
स्याँफ्रुबेँशी, टिमुरे, बेत्रावतीलगायत भोटेकोशी बाढीले बगाएका स्थानहरू अहिले चित्कार र विलापको बगर बनेको छ ।
गएको भदौ १० गते भोटेकोशीको मुहानबाट आएको भीषण बाढीले केरुङ, रसुवागढी, स्याफ्रुबेँशी, मैलुङ हुँदै बेत्रावतीका सयौँ वर्ष पुराना बस्तीहरूलाई केही मिनेटमै सोहोरेर त्रिशूलीको गहिराइमा बिलाइदियो ।
भदौ १० गते बिहान जब रसुवा र नुवाकोटका बासिन्दा नयाँ दिनको दिनचर्या शुरु गर्दै थिए । हिमालको फेदबाट भीषण बाढीको आवाज सुनियो । भीषण बाढी भोटेकोशीको साँघुरो गल्छीबाट उर्लिएको थियो । पानीको सतह सामान्यभन्दा धेरै मिटर माथि उठेको थियो । खोला किनारका घरहरू तासको पत्ताझैँ ढले र सडकहरू क्षतविक्षत भए ।
कतिले आँखा अगाडि आफ्नै घर र छिमेकीका परिवार खोलाले निलेको देखे । न बचाउन गुहार माग्न सके न सुरक्षित स्थानतिर भाग्न पाए । रसुवाको केरुङ नाका र रसुवागढी भन्सार क्षेत्रबाट शुरु भएको यो महाविपद्ले सडक सञ्जाललाई क्षतविक्षत पारेको छ । जलविद्युत आयोजनामा कार्यरत प्राविधिक, श्रमिक र स्थानीय व्यापारीहरू गरी हजारौँ बाढीको पहिलो चपेटामा परे ।
नुवाकोटको त्रिशूली बजार, बट्टारको तल्लो भूभाग, देवीघाट, धादिङको गल्छी, मलेखु, जोगिमारा हुँदै चितवनको मुग्लिन र देवघाटसम्म बाढीले ताण्डव मच्चाएको छ । धादिङ र चितवनका तटीय फाँटहरूमा लगाइएको हजारौँ हेक्टरमा रोपिएको धानबाली लेदोले पुरिएको छ ।
नेपाल सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले हेलिकप्टर र डोरीको सहायताले जोखिमयुक्त ठाउँबाट उद्धारको प्रयास गरिरहे पनि कतिपय स्थानमा लगातारको वर्षा, बाक्लो कुहिरो र सडक सञ्जाल पूरै विच्छेद भएकाले माथिल्लो रसुवा पुग्न निकै कठिन भएको छ ।
अहिलेसम्म ४ हजारभन्दा धेरै नागरिक बेपत्ता छन् । नदी किनारमा आफन्त खोज्न उभिएका बालबालिका र वृद्ध वृद्धाको आँशुले जो कोहीको मुटु चसक्क पार्छ ।
प्रतिक्रिया दिनुहोस