
राजु केसी
समयको गतिसँगै जीवनका पानाहरू कसरी फेरिँदै जान्छन्, पत्तै नपाइने रहेछ। सुन्दरबजार नगरपालिका वडा नं. ६, खत्रीठाँटीको आँगनमा खेलेको, हुर्केको म राजु केसी। मेरो अक्षरारम्भ र प्राथमिक शिक्षाको आधारशीला यहीँको श्री विद्याज्योति माविमा कोरिएको थियो।
बाल्यकालमा चेतनाको दियो बाल्ने तिनै गाउँका माटो र गुरुजनहरूको आशिर्वाद बोकेर उच्च शिक्षाका लागि काठमाडौँ हानिएँ। काठमाडौँको व्यस्त जीवनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्दा मनमा एउटै हुटहुटी हुन्थ्यो— फर्केर आफ्नै जन्मभूमिको सेवा गर्ने।
त्यही सपना साकार पार्न मिति २०६१/०१/०९ गते मेरो जीवनको नयाँ अध्याय सुरु भयो। आफ्नै गाउँ-ठाउँको आदर्श बाल उच्च माध्यमिक विद्यालयमा साबिक उच्च मावि (कक्षा ११/१२) को दरबन्दीमा मैले अध्यापन यात्राको थालनी गरेँ। लमजुङ जिल्लाकै उत्कृष्ट प्रधानाध्यापक श्री कृष्ण कुमार श्रेष्ठज्यूको कुशल, दूरदर्शी र अभिभावकीय नेतृत्वमा काम गर्ने अवसर पाउनु मेरो सौभाग्य थियो।
उहाँको प्रस्थानपश्चात् पनि विद्यालयले रामकृष्ण भण्डारी, शम्भु त्रिपाठी र सूर्य बराल जस्ता अत्यन्तै कुशल एवं अब्बल प्रशासनिक क्षमता भएका प्रधानाध्यापकहरू पायो। उहाँहरूकै सशक्त नेतृत्व, दूरदर्शिता र अथक प्रयासका कारण विद्यालयलाई शैक्षिक उन्नयनको उच्च शिखरमा पुर्याउँदै, आर्थिक एवं भौतिक रूपमा सुदृढ र समृद्ध बनाएर वर्तमान प्रशासनलाई जिम्मेवारी हस्तान्तरण गरी उहाँहरू सेवानिवृत्त हुनुभयो।
तिनै आदरणीय नेतृत्वकर्ताहरूको मार्गदर्शनमा आफूलाई सधैँ निखार्दै, विद्यालयको सर्वाङ्गीण विकासका लागि मैले पनि अहोरात्र आफूलाई समर्पित गरिरहे।
विगतदेखि हालसम्मको लामो यात्रामा आदर्श बाल माविलाई आर्थिक, शैक्षिक र सामाजिक रूपमा जिल्लाकै अग्रस्थानमा पुर्याउन हामीले अनेकौँ चुनौतीहरूसँग पौँठेजोरी खेल्यौँ। प्रशासनिक कुशलता र शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यालयलाई यो उचाइसम्म पुर्याउन सकिएको कुरा आज आम अभिभावक, स्थानीय बुद्धिजीवी तथा सम्पूर्ण समुदायसामु छर्लङ्गै छ।
यस गौरवशाली यात्रामा २४ सै घण्टा खटेर भौतिक, आर्थिक र सामाजिक योगदान पुर्याउनुहुने सम्पूर्ण दिवङ्गत तथा जीवित व्यक्तित्वहरू, आदरणीय अभिभावकज्यूहरूप्रति शिर झुकाएर हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
यो लामो २३ वर्षको निरन्तर अध्यापन अवधिमा विद्यालयको विकास रूपी भव्य महलमा ‘एक इँटा’ भए पनि थप्ने मौका पाएँ। एउटा शिक्षकका रूपमा मेरा हजारौँ विद्यार्थीहरूलाई ज्ञानको उज्यालो बाँड्न पाएकोमा म आफूलाई औधी गौरवान्वित महसुस गर्दछु।
तर, जीवन परिवर्तन र निरन्तरताको अर्को नाम हो। आज विविध परिस्थितिवश मनभरि गहिरो भावुकता र सम्झनाका अनेकौँ तस्विरहरू बोकेर म यस विद्यालयबाट सरुवा भई वडा नं. ५ मा रहेको आफ्नै पुराना पुराना बालस्मृतिहरू गाँसिएको विद्याज्योति मावितर्फ जाँदै छु। वर्षौँसम्म सँगै हाँसेको, सँगै खटेको प्राङ्गण, सहकर्मी मित्रहरू र मलाई असाध्यै माया गर्ने प्यारा विद्यार्थीहरूलाई छाडेर जाँदा छाती भारी भएर आउँछ।
म यस विद्यालयबाट भौतिक रूपमा ओझेल परे पनि मन भने सधैँ यहीँ रहनेछ। आउँदा दिनहरूमा यो विद्यालयले अझ चौतर्फी उन्नति र प्रगति गरोस्।
वर्तमान तथा भावी प्रशासनले जिम्मा प्राप्त कोषको सही र पारदर्शी सदुपयोग गर्दै त्यसलाई दुगुना वृद्धि गर्न सकोस् र अझ थप उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै सफलताको नयाँ उचाइ छुन सकोस् भन्ने हार्दिक शुभेच्छा र शुभकामना व्यक्त गर्दछु।
आज विदाईको यो मार्मिक क्षणमा उभिएर मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, समर्थन र हौसला प्रदान गर्नुहुने सम्पूर्ण जनजन, आदरणीय अभिभावकज्यूहरू, स्नेही सहकर्मीहरू तथा मेरो प्राणभन्दा प्यारा विद्यार्थी भाइबहिनीहरूप्रति हृदयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। स्थान बदलिए पनि मेरो निष्ठा, समर्पण र शिक्षाप्रतिको लगाव कहिल्यै बदलिने छैन।
प्रतिक्रिया दिनुहोस