लमजुङ–पिङ हाल्ने, खेल्ने परम्परा छ, दशैँ तिहारमा । तर पछिल्लो समय गाउँघरबाटै पिङ हाल्ने, खेल्ने परम्परा हराउँदै जान थालेको छ । युवापुस्ताले चासो नदिँदा विस्तारै मौलिक संस्कार, संस्कृति हराउँदै जान थालेको हो । तर हराउँदो पिङ संस्कृति संरक्षणका लागि भने लमजुङ बर्धानका स्थानीयहरु कम्मर कसेर लागि परेका छन् ।
लमजुङको मध्यनेपाल नगरपालिका–१०, हाँडीखोला बर्धानमा २४ पिर्के रोटे पिङ स्थापना गरी संचालनमा ल्याएको छ । जानकारहरुका अनुसार पहिले लमजुङ, गोरखा र तनहुँका विभिन्न गाउँ÷ठाउँमा आठ, १२ र १६ पिर्केसम्मका पिङ देख्न पाइने भए पनि पछिल्लो समय यस्ता पिङ हराउँदै गएका छन् ।

वर्धानमा फूलपातीका दिन विधिवत् पूजा–आराधना गरी २४ पिर्के रोटे पिङ सञ्चालनमा ल्याइएको मध्यनेपाल नगरपालिका–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता समेत रहनुभएका भण्डारीका अनुसार दशैंको परम्परा र सांस्कृतिक महत्त्व झल्काउने पिङ सञ्चालनमा आएपछि यस क्षेत्रमा चाडपर्वको रौनक थपिएको छ ।
यहाँसम्म पिङ खेल्न आउनेको संख्या बढ्दै गएको स्थानीय श्री शारदा सदन आधारभूत विद्यालयका प्रधानाध्यापक विवेक ढुंगानाले बताउनुभयो ।
उहाँका अनुसार पिङ खेल्न लमजुङसहित तनहुँ, गोरखा र कास्कीबाट समूहमै गाडी रिजर्भ गरी मानिसहरु आउने गर्छन् ।
लमजुङको हाँडीखोला बर्धानसम्म पुग्न सहजै बाटोको पहुँच छ । विवेक ढुंगानाका अनुसार २४ पिर्के रोेटे पिङ हालिएको हाँडीखोला बर्धान पुग्न तनहुँको दमौलीबाट भोर्लेटार हुँदै बाग्रेबेसी भएर जान सकिन्छ ।
यस्तै, लमजुङको सुन्दरबजारबाट सत्रसय–कोइरालाफाँट–नेटा हुँदै यहाँसम्म पुग्न सकिन्छ । यस मार्गको अधिकांश सडक कालोपत्रे गरिएको छ । पिङ निर्माण र संचालनमा स्थानीयलाई गरपालिका, वडा कार्यालयले वर्षेनी सघाउँदै आएको छ ।
पिङ संस्कृतिको बेग्लै महत्व
दशैँ तिहारमा टीकाको एक दिन भए पनि पिङमा खुट्टा राख्नुपर्ने पुराना पुस्ता बताउँछकोन् । त्यसैले पनि पिङ संस्कृतिको आफ्नै बेग्लै महत्व छ । पिङ हाल्दा धयेरैको हातेमालो आवश्यक पर्ने हुँदा यसले स्थानीयमा आपसी सद्भावका साथै मौलिक संस्कृति संरक्षणमा पनि टेवा पुर्याउँछ ।
त्यसैले यस संस्कृति संरक्षणका लागि पुराना पुस्ताले आवश्यक ज्ञान, सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्न र नयाँ पुस्ताले पनि यसप्रति उत्तिकै चासो दिनुपर्ने आवश्यकता देखिन्छ ।

एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस