२०८३ मंसिर १३, आईतबार | Sun, 29, Nov, 2026

लमजुङको चिहानपाटामा खजे दुराको नयाँ शालिक अनावरण

  • २०८३ कार्तिक २२, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • लमजुङ–लमजुङको इतिहासमा महत्वपूर्ण योगदान पुर्याउनुभएका ऐतिहासिक वीर पुरुष खजे दुराको स्मृतिमा सुन्दरबजार नगरपालिका–३, खजेगाउँस्थित चिहानपाटाको खजे पार्कमा उहाँको पुनःस्थापित धातुको शालिक अनावरण गरिएको छ ।

    ५१औँ खजे दुरा स्मृति दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य डा.टकराज गुरुङको प्रमुख आतिथ्यतामा नयाँ शालिक अनावरण गरिएको हो । कार्यक्रममा बोल्दै उहाँले गण्डकीको समुन्नति नै प्रकृति र संस्कृति रहेको उल्लेख गर्नुभयो ।

    खजे दुराको ऐतिहासिक योगदानलाई चिरस्थायी बनाउन तथा भावी पुस्तालाई उहाँको इतिहास र योगदानबारे परिचित गराउन यस शालिकले महत्वपूर्ण योगदान पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    खजे दुरा नेपाली इतिहासमा विशेषगरी : लमजुङमा शाहवंशीय शासन स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने ऐतिहासिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँको योगदान केवल दुरा समुदाय वा दुराडाँडाको इतिहासमा मात्र सीमित नभई लमजुङको राजनीतिक इतिहाससँग समेत जोडिएको छ ।

    गण्डकी प्रदेश सरकारबाट शालिक तथा पार्क निर्माणका लागि विनियोजित १५ लाख रुपैयाँ बजेटबाट शालिक र पार्क निर्माणको काम अघि बढाइएको थियो ।

    खजे दुराको योगदानलाई स्थानीय तहमा मात्र सीमित नराखी राष्ट्रिय इतिहासमा उचित स्थान दिनुपर्ने आवाजसमेत उठ्दै आएको छ ।
    ५१औँ स्मृति दिवसका अवसरमा पुनःस्थापित शालिकको अनावरणले खजे दुराको योगदानलाई पुनः चर्चामा ल्याएको छ ।

    यो शालिक केवल एउटा ऐतिहासिक व्यक्तित्वको प्रतिमा मात्र नभई लमजुङको गौरवपूर्ण इतिहास, दुरा समुदायको पहिचान र पुर्खाले देखाएको नेतृत्व तथा साहसको स्मारकका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑