२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

अनुभूति : ‘रित्तिदैँ गएका गाउँ, उजाडिएका पाठशाला’

  • २०८२ पौष ६, आईतबार मा प्रकाशित ८ महिना अघि
  • उत्तम बसेल

    शनिबारको दिन कारणबस खमारीबोट घुम्ने अवसर जुर्यो । आज कुन्छाको खमरीबोट गाउँ टेक्दा मनमा एउटा अव्यक्त भारीपन महसुस भयो ।

    गाउँको सौन्दर्य र स्कुलको शून्यताबीचको खाडलले मुटु च्वास्स बनायो । केवल दुई वर्ष अघिसम्म बालबालिकाको कलरवले गुन्जिने त्यो ज्ञानको मन्दिर आज खरबारीले ढाक्दै गएको छ ।

    कुनै अभिभावकले स्कुलप्रति अगाध श्रद्धा राखेर किनिदिएको त्यो बलियो ताल्चामा आज खियाको साम्राज्य छ । त्यो खिया केवल फलाममा मात्र होइन, हाम्रो शिक्षा प्रणाली र भविष्यमाथि नै लागेको प्रतित हुन्छ ।

    सोच्छु—यो विद्यालय स्थापना गर्न आफ्नो पसिना बगाउने ती दिवङ्गत संस्थापकहरूले माथि स्वर्गबाट यो दृश्य हेर्दा कति आँसु खसाउँदा हुन् ?

    विद्यालयको त्यो मौन चित्कारभन्दा केही पर गाउँ भने प्रकृतिको अनुपम श्रृङ्गारमा सजिएको छ । त्यहीँ एक सत्तरी वर्षीया आमा कुप्रो परेर कोदोको नल काट्दै हुनुहुन्छ— उहाँको त्यो झुकेको शरीर रित्तिँदो गाउँको एउटा जिउँदो बिम्ब जस्तो लाग्छ ।

    दैलो अगाडिको हरियो साग, बोटमै पाकेर चराले जुठ्याएका पहेँला मेवाहरू र राताम्य फुलेका लालुपातेहरूले ‘गाउँले जीवनको आशा अझै बाँकी छ’ भनिरहेझैं भान हुन्छ ।

    गाउँको बीचमा भर्खरै एउटा सुन्दर पाटी निर्माण भएको रहेछ । चन्दादाताहरूको नाम र सहयोग रकम शिलालेखमा कुँदिएको छ । गाउँका वृद्धवृद्धाहरू पाटीमा बसेर मनका कुरा गर्ने, गफिने त्यो थलो साँच्चै लोभलाग्दो बनेको छ । बिहानीको स्वच्छ हावा र न्यानो घामले गर्दा तातो लुगाको खाँचै पर्दैन । कस्तो अद्भुत आनन्द !

    गाउँको केन्द्रमा बनेको नयाँ पाटी र त्यहाँ कुँदिएको शिलालेखले गाउँलेको एकता त दर्शाउँछ तर त्यो पाटीमा बसेका वृद्धवृद्धाहरूको आँखामा भने एउटा गहिरो शून्यता छ । उनीहरूका सन्तान शहर पसे । गाउँ रित्तियो ।

    पाटीमा बसेका ती वृद्ध आँखाहरूले आफ्ना सन्तान खोजिरहेको कता कता भान हुन्छ । सायद उनीहरूको मनले भनिरहेको छ— हिमालभन्दा अग्लो याद बोकेर ती सन्तानहरू कहिले यो रित्तो आँगनमा पाइला टेक्न आउलान् ? बिहानीको न्यानो घामले शरीर त सेक्छ तर गाउँ रित्तिँदाको चिसोले उनीहरूको मनलाई भित्रभित्रै ठिहिर्याइरहेको प्रतित हुन्छ ।

    त्यहाँबाट फर्किएपछि मेरो मस्तिष्कमा एउटै प्रश्नले निरन्तर हिर्काइरहेको छ— के त्यो उजाड स्कुलको भवन फेरि कहिल्यै ब्यूँझिएला ? के ती खिया लागेका ताल्चाहरू गाउँको विकासको नयाँ साँचोले खोलिएलान् ? के त्यो भग्नावशेषमा फेरि कहिल्यै अबोध बालबालिकाका हाँसो र भविष्यका सपनाहरू गुन्जेलान ?

    त्यो भवन केवल ढुङ्गा र माटोको थुप्रो मात्र होइन, हाम्रो सभ्यताको एउटा ऐना हो । यसलाई कसरी पुनर्जीवन दिने ? यो प्रश्नको उत्तर आज खमरीबोटजस्तै थुप्रै गाउँका माटोले खोजिरहेको छ ।

    (उत्तम बसेल लामो समयदेखी शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । उहाँ शिक्षाका साथै सम-सामयिक विषयमा कलम चलाउन रुचाउनुहुन्छ ।)

    प्रतिक्रिया दिनुहोस