२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

मौलिक लोक संस्कृति संरक्षणमा राजशान्ति : माया गुरुङ सांगीतिक साँझका लागि डेढ लाख सहयोग

  • २०८३ श्रावण १३, बुधबार मा प्रकाशित १ महिना अघि
  • लमजुङ-वरिष्ठ लोकगायिका माया गुरुङ सांगीतिक साँझ–२०८३ लाई सफल बनाउन लमजुङको फूलबारी घर भइ हाल बेलायतमा रहनुभएका समाजसेवी, गीतकार तथा राजशान्ति फाउन्डेसनका संस्थापक राजशान्ति सुनारले कुल १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङका अनुसार सांगीतिक साँझका लागि पहिलो सहयोगी दाताका रूपमा सुनारले ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिसक्नुभएको छ ।

    यस्तै, प्रतिष्ठानभित्र कलाकार कल्याण र लोक संस्कृतिको संरक्षणका लागि स्थापना गरिने ‘राजशान्ति अक्षय कोष’ का लागि थप १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा समेत उहाँले गर्नुभएको छ ।

    प्रतिष्ठानले सुनारको योगदानलाई केवल आर्थिक सहयोग नभई लोकसंस्कृतिको संरक्षण, स्रष्टाप्रतिको सम्मान तथा कलाकारको भविष्य सुरक्षित बनाउने अभियानप्रतिको गहिरो विश्वास र आत्मीय साथका रूपमा लिएको जनाएको छ ।

    स्थापना हुन लागेको ‘राजशान्ति अक्षय कोष’ बाट प्रत्येक वर्ष लमजुङमा जन्मिएर नेपाली लोकगीत–संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नवप्रतिभा कलाकारलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।

    प्रतिष्ठानले कुल १ लाख ५० हजार रुपैयाँको योगदानले संस्थाको इतिहासमा नयाँ अध्याय थपेको उल्लेख गर्दै राजशान्ति सुनारप्रति कृतज्ञता व्यक्त गरेको छ ।

    साथै, उहाँको सहयोगले अन्य शुभेच्छुकलाई पनि लोकसंस्कृति संरक्षण र कलाकार कल्याणको अभियानमा सहभागी हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।

    राजकुमार सुनार (राजशान्ति) र उहाँको धर्मपत्नी शान्ति सुनारले स्थापना र संचालन गर्दै आउनुभएको यस फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद, मौलिक लोक गीत/संगीत, साहित्यका साथै विभिन्न सामाजिक सेवाका क्षेत्रमा क्रियाशिल छ ।

    प्रतिक्रिया दिनुहोस