२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

मनकारी सेलिब्रेटी : बाढी प्रभावित थलोमा पुगी राहत वितरणमा जुट्दै

  • २०८३ भाद्र १५, सोमबार मा प्रकाशित ५७ मिनेट अघि
  • सेलिब्रेटी तथा कलाकारले भोढेकोशी बाढीबाट प्रभावित थलोमा पुगेर आफै राहत सामग्री वितरण गर्न थालेका छन् । मिस नेपाल दीपमाला ढकालदेखि गायक दुर्गेश थापा, अभिनेता पल शाह अहिले बाढी प्रभावित नुवाकोटमा छन् ।

    दीपमालाले हामी नेपाल संस्थासँगको सहकार्यमा अहिले नुवाकोटका विभिन्न स्थानमा पुगेर राहत सामग्री बाँडेकी छन् । उनले राहत सामग्री लिएर आफू विभिन्न क्याम्पमा पुगेको बताएकी छन् । पीडितलाई मात्र होइन, उद्वारकर्तालाई पनि आवश्यक रेनकोट र बुट जरुरी रहेको उनको भनाइ छ ।

    गायक दुर्गेश थापाले नुवाकोटको विदुर लगायतका थलोमा पुगेर प्रभावितलाई खानेकुरा, लत्ताकपडा बाँडेका छन् । उनले आफै भात पस्किएर बाढी पीडितलाई खाना पनि खुवाएका छन् ।

    अभिनेता पल शाहले नुवाकोटको विदुर नगरपालिकास्थित पिपलटारका ४०० घरपरिवारलाई राहत बाँडेको जनाएका छन् । २०० घरलाई सिरक, डसना, तन्ना र बाँकी २०० घरलाई भित्री वस्त्र, पछ्यौरी, चाउचाउ, विस्कुट, जीवनजल र स्यानिटरी प्याड बाँडेको जनाएका छन् ।

    अभिनेत्री प्रियंका कार्कीलाई आफूकहाँ प्राप्त हुन आएका लत्ताकपडा र डोनेसनलाई अहिलेसम्म राहत सामग्री पुग्न नसकेका थलोमा वितरण गर्ने तयारी भएको जनाएकी छन् । उनले राहत सामग्रीका भिडियो सेयर गरेकी छन् ।

    र्‍यापर भियोमाले पनि नुवाकोटको विदुरमा पुगेर राहत बाँडेका छन् । गायक एकदेव लिम्बुले एक भ्यान राहत सामग्री वितरण गरेका छन् । उनले प्रभावित क्षेत्रमा पुगेर तरकारी बाँडेका छन् ।

    ‘आफ्नो तर्फबाट सकेको सानो सहयोग गरेर फर्किँदा मनमा छुट्टै आनन्द महसुस हुने रहेछ’ लिम्बुले लेखेका छन् । गायिका समीक्षा अधिकारी जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत रसुवा बाढीका पीडितका लागि राहत सामग्री प्रदान गरेको जनाएकी छन् ।

    कन्टेन्ट क्रिएटर इभा गिरीले पनि प्रभावित थलोमा पुगेर राहत सामग्री वितरण थालेकी छन् । इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै उनले औषधि, खाद्यान्न, लत्ता कपडा लगायतका सामग्री प्रदान गर्न लागेको जनाएकी छन् ।

    गोसाइकुण्ड दर्शनमा पुगेकी अभिनेत्री ऋचा शर्माले त्यहाँ अड्किएका सर्वसाधारण विशेष गरि महिला र बालबालिकालाई लत्ताकपडा जरुरी भएकाले डोनेसन दिन आग्रह गरेकी छिन् । यीबाहेक, अन्य कलाकारले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा गच्छेअनुसार रकम प्रदान गरेको जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस