
म्याग्दी–म्याग्दीको बेनी नगरपालिका–४, थामडाँडाका ८० वर्षीय हर्कबहादुर विश्वकर्माको धेरै समय आरनमै बित्छ । सानै उमेरदेखि उहाँले आरनको काम गर्न थाल्नुभएको हो । आफ्नो बाबुबाजेले गर्दै आएको पुख्र्यौली पेसा भएकाले उहाँले पनि यसैलाई निरन्तरता दिनुभयो ।
हर्कबहादुरको आरनमा फलामबाट बन्न सक्ने सबैखाले सामानहरु बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि हर्कबहादुरले आरनमै गर्नुहुन्छ । उहाँसँग फलामबाट बन्ने हँसिया, कुटो, कोदालो, दाबे, ताप्के, सिल्टेबाट बन्ने दिउरी, ताउलीलगायत सामानहरु बनाउने सिप छ ।
उहाँको आरनमा दैनिकजसो फलामका सामानहरु बनाउन र तिखार्न मानिसहरु आउने गर्छन् । हर्कबहादुरले आरन चलाएरै सातवटी छोरी र दुईवटा छोरा हुर्काउनु भयो । उहाँले पहिले–पहिले गाउँ घरबाट अन्नपात लिएर आरनको काम गर्ने गरेको भए पनि अहिले भने ज्याला (पैसा) लिएर काम गर्नुहुन्छ ।
फलामबाट बन्ने सामानहरु हँसिया, कुटो, कोदालोलगायत अर्जाबेको (तिखार्ने काम) ठूलो–सानो सामान हेरेर न्यूनतम ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म लिने गरेको उहाँले बताउनुभयो । नयाँ बनाएको हँसिया खरिद गर्दा सानो तीनसय र ठूलो एक हजार रुपैयाँ पर्ने गर्छ ।
पहिलेको समयमा आरनमा फलाम र सिल्टेका सामान बनाएको वार्षिक रुपमा १०–१२ मुरी अन्न संकलन गर्ने हर्कबहादुरले अहिले पनि धान, गहुँ र मकै गरेर तीन\चार मुरी अन्न उठाउनुहुन्छ । अहिले फलामजन्य सामान नयाँ बनाउनुका साथै पुरानो सामानको मर्मत–सम्भार गरेर मासिक १५–२० हजार रुपैयाँ कमाउने गरेको उहाँले बताउनुभयो ।
पहिलाको समयमा सामान बनाएको अन्नपात लिएर काम गर्नुभन्दा अहिले ज्याला लिँदा आफूलाई धेरै फाइदा भएको उहाँले बताउनु भयो ।
थामडाँडा क्षेत्रमा आरन चलाउने आफूहरु तीनजना रहेको बताउँदै उहाँले साथीभाइ मिलेर संयुक्त रुपमा गोल बनाउने गरेको बताउनुभयो ।
आरनमा फलामका सामान बनाउन र तिखार्न काठको गोल चाहिन्छ । ‘तिघ्रा–पाखुरा चलुन्जेल काम गर्ने हो, अनि छोड्छु,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस