२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

मनै लोभ्याउने लमजुङको गाईखुरे झरना !

  • २०८० श्रावण २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • लमजुङ–लमजुङ भोटेओडारका प्रेम गुरुङ बर्सेनी बर्खाको समयमा गाईखुरे झरना पुग्नुहुन्छ । यहाँ आउँदा उहाँलाई रमाइलो अनुभूति हुन्छ ।
    विगतमा साथीभाइसंग झरना पुग्नुहुने उहाँ यसपाली साउने सक्रान्तिको दिन सोमबार श्रीमती र सानी छोरीको साथमा झरना पुग्नुभयो । घर–परिवारको साथमा झरनामा रम्न पाउँदा उहाँ खुशी हुनुहुन्छ ।
    ‘बर्खाको समयमा मात्र झरनाबाट पानी झर्छ । प्राय : बर्सेनी झरनामा आइन्छ । यसपाली घरपरिवारको साथमा झरनामा आएको । यहाँ आइ झरनाको चिसो पानीका साथै यहाँको प्राकृतिक सौन्दर्यले खुशी तुल्याउँछ,’ कराँते खेलका प्रशिक्षक समेत रहनुभएका प्रेमले भन्नुभयो ।
    छोरीसंगै फोटो खिच्न व्यस्त हुनुहुन्थ्यो, गुरुङ दम्पत्ति । उहाँहरु मात्र होइन अहिले लमजुङको बेसीशहर नगरपालिका–१ उदीपुरमा पर्ने यस गाईखुरे झरनामा दैनिक सयौँ संख्यामा मानिसहरु आउने गर्दछन् ।
    शान्त अनि मनोरम वातावरण
    केही उचाइबाट झरेको चिसो पानी । आडैमा मध्यमस्र्याङ्दीको बाँधस्थल । मनै भुलाउने मनोरम अनि शान्त वातावरण । लमजुङको गाइखुरे झरनामा पुग्दा एकैसाथ यी विशेषता नियाल्न पाईन्छ । संगै शान्त, मनोरम वातावरणमा मन ‘टहलाउन’ पाईन्छ ।
    त्यसैले पनि डुम्रे–बेसीशहर सडकखण्डको छेउमै पर्ने गाइखुरे झरनामा रम्नेको अहिले भिड छ । चिसो झरनाको पानीमा पौडी खेल्ने, नुहाउनेको भीड देख्न सकिन्छ । गाईखुरे झरना साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ ।
    टिकटक बनाउनेको भीड
    चिसो बताससंगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर टिकटक बनाउने पनि उतिक्कै भीड देख्न सकिन्छ ।
    पहाडको खोँचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा, यहाँको प्राकृति सौन्दर्य नियाल्न पाउँदा निकै खुशी मिलेको गोरखा पालुङटारकी विद्या सुनारले बताउनुभयो ।
    ‘माइती(सुन्दरबजार) आएको बेला बहिनीहरुको साथमा झरनामा आइ यहाँको प्राकृतिक सुन्दरता नियाल्न पाउँदा साह्रै खुशी लाग्यो,’ उहाँले भन्नुभयो ।
    सडक छेउमै भएकाले गाडी वा मोटरसाइकल रोकेर झरनामा एकैछिन भएपनि रमाउनेहरु धेरै छन् ।
    प्रेमी–प्रेमिकाका लागि आकर्षक गन्तव्य
    गाईखुरे झरना प्रेमी–प्रेमिकाका लागि आकर्षक गन्तव्य बनेको त्यहाँ पुग्ने जोकोहीले देख्न सक्छ । आफ्ना मायालुको हात समातेर झरना हेर्न अनि झरनासहितको तस्बिर खिच्न प्रेमील जोडीहरु व्यस्त भइरहेका भेटिन्छन् ।
    प्रेमी जोडीसंगै झरनामा विवाहित जोडी पनि धेरै पुग्ने गरेका छन् । चाडपर्व, बिदाको दिन झरनासम्म आउनेको बढि भीड लाग्ने गर्छ ।
    बर्खायाममा झरना हेर्न र यहाँ रमाउन पुग्नेहरुको भिड लाग्छ । तर हिउँदमा यो झरना प्राय : सुनसान जस्तै हुन्छ । हिउँदमा झरनामा पानी हुँदैन ।
    रोजगारी सिर्जना गर्न सकिने सम्भावना
    नजिकै बगेको मस्र्याङ्दीको पानीलाई मोटरले तानेर झरनाबाट झार्न सके बाह्रै महिना पर्यटकलाई झरनासम्म तान्न सकिने झरनामा पुग्नेहरु बताउँछन् ।
    यहाँ बाह्रै महिना झरना सञ्चालन गर्न सकेमा रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेकाले यसमा स्थानीय सरकारका साथै सबै सरोकारवाला पक्षको ध्यान जानु जरुरी रहेको प्रेम गुरुङले बताउनुभयो ।
    त्यसो त यस झरनामा विभिन्न समयमा ‘क्यनोनिङ’ समेत हुने गरेको छ । यहाँ ‘क्यानोनिङ’को पनि उतिक्कै सम्भावना छ ।
    लमजुङमा गाइखुरे झरनामा मात्र नभएर बाह्रै महिना ‘क्यानोनिङ’ गर्न सकिने झरनाहरु पनि छन् । लमजुङको उत्तरी क्षेत्रमा पर्ने राइदु, घोप्टे, च्याम्चे, छहरे र तातोपानी खोलामा ‘क्यानोनिङ’को सम्भावना रहेको जानकारहरु बताउँछन् ।

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस