
लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडार फूलबारी घर भई हाल युकेमा बस्दै आउनुभएका राजकुमार सुनार (राजशान्ति) र उहाँको धर्मपत्नी शान्ति सुनारले मौलिक संस्कृति संरक्षणका लागि सहयोग गर्नुभएको छ ।
हरितालका तीजको अवसरमा हातेमालो मूल आमा समूह भोटेओडारको आयोजनामा भोटेओडारमा संचालित ‘खुला तीज गीत प्रतियोगिता’ संचालनका लागि सुनार दम्पत्तिले आफ्नो राजशान्ति फाउण्डेसनमार्फत पचास हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

‘हराउँदै गएको मौकिल गीत संगीत र संस्कृति संरक्षणका लागि सकेको सानो सहयोग गरेका हौँ,’ राजशान्ति फाउण्डेसनकी संस्थापक शान्ति सुनारले भन्नुभयो, ‘आगामी दिनमा पनि यस्ता कार्यलाई हामी निरन्तरता दिनेछौँ ।’
कार्यक्रमकै लागि बेलायतबाट लमजुङ आउनुभएकी फाउण्डेसनकी संस्थापक शान्ति सुनारलाई सोही समारोहका बीच सम्मानित पनि गरिएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन गर्नुहुने राजशान्ति फाउण्डेसन र अन्य सबै सहयोगी व्यक्ति तथा संसघंस्थाप्रति हातेमालो मूल आमा समूह भोटेओडारकी अध्यक्ष मनु पन्त खत्रीले धन्यवाद ज्ञापन गर्नुभएको छ । कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य टिकाकुमारी बस्यालको प्रमुख आतिथ्यतामा भएको हो।
विभिन्न सामाजिक सेवाका क्षेत्रमा क्रियाशिल राज–शान्ति फाउण्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद, लगायत अन्य विभिन्न सामाजिक सेवाका क्षेत्रमा पनि काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस