
उत्तम बसेल
ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने।
प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः॥
………………………………………………
भगवान कृष्ण, जसलाई भगवान विष्णुको आठौं अवतार मानिन्छ , सँग १६ कला वा दिव्य गुणहरू थिए। यी गुणहरूमा करुणा, धैर्य, क्षमा, न्याय, निष्पक्षता, अलगाव, आध्यात्मिक शक्ति, अजेयता, उदारता, सौन्दर्य, नृत्य, गायन, इमानदारी, सत्य, आदि थिए । यी गुणहरूले व्यक्तिहरूलाई सन्तुलित व्यक्तित्व विकास गर्न र आजको द्रुत-गतिको संसारमा बाँच्ने कलामा निपुणता हासिल गर्न मार्गदर्शन गर्दछन्। भगवान कृष्णले विशेष गरी भगवद् गीता मार्फत् जीवनका विभिन्न पक्षहरूमा लागू गर्न सकिने जीवन परिवर्तन गर्ने शिक्षाहरू दिएका छन्:
१. धर्म पालन र कर्तव्य
श्रीकृष्णले अर्जुनलाई महाभारतको युद्धमा आफ्नो कर्तव्य पूरा गर्न प्रेरित गर्नु भयो। यो शिक्षा हामीलाई जीवनमा सफलता वा असफलताको बारेमा धेरै चिन्तित हुनुको सट्टा आफ्नो जिम्मेवारी र नैतिक दायित्वहरूमा ध्यान केन्द्रित गर्न सिकाउँछ।
२. निस्वार्थ कर्म (कर्मयोग)
गीता अनुसार, कर्म गर्नु महत्वपूर्ण छ, तर त्यसको फलप्रति आसक्त नहुनु पर्छ। श्रीकृष्णले निस्वार्थ भावले कर्म गर्नुपर्ने शिक्षा दिनु भएको छ। काम गर्नु पर्छ, तर परिणामको आशा नगरी, निरन्तर प्रयास गर्नुपर्छ।
३. अहंकार त्याग
अहंकारले जीवनमा दुःख ल्याउँछ। श्रीकृष्णले अहंकार र स्वार्थ त्याग्नुपर्ने र जीवनलाई सरल र शान्त बनाउनुपर्ने शिक्षा दिनु भएको छ।
४. संकटको सामना गर्नु
महाभारतको युद्धमा अर्जुनलाई आफ्नो जिम्मेवारी र कर्तव्य निभाउन प्रेरित गरेर, श्रीकृष्णले संकटको सामना गर्नुपर्छ भन्ने पाठ दिनुभएको छ। कुनै पनि परिस्थिति आएपनि निडर भएर साहस र दृढ संकल्पका साथ चुनौतीहरूको सामना गर्न प्रोत्साहित गर्नुहुन्छ।
५. भक्ति र समर्पण
श्रीकृष्णले भक्तिलाई उच्च स्थानमा राख्नु भएको छ। उहाँले सम्पूर्ण रूपमा भगवानप्रति समर्पण गर्नुपर्ने र विश्वासको साथ जीवन अघि बढाउनुपर्ने शिक्षा दिनु भएको छ।
६. सन्तुलन र मध्यम मार्ग
जीवनमा सन्तुलन राख्नुपर्ने शिक्षा पनि श्रीकृष्णले दिनुभएको छ। न अति सुखमा रमाउनु न दुःखमा चुर हुनु पर्छ। सन्तुलित जीवन नै सुखदायी हुन्छ।
७. समता र सहानुभूति
श्रीकृष्णले सबै प्राणीप्रतिको समानता र सहानुभूतिको शिक्षा दिनु भएको छ। सबैमा ईश्वरको अंश छ र सबैलाई समान दृष्टिले हेर्नु पर्छ भन्ने सन्देश दिनुभएको छ।
८. दया र क्षमा
महाभारतभरि, भगवान कृष्णले आफूलाई गल्ती गर्नेहरूलाई पनि क्षमा गर्नुहुन्छ र मेलमिलाप र शान्ति ल्याउन प्रयास गर्नुहुन्छ। यो पाठले हामीलाई क्षमा र करुणाको महत्त्व सिकाउँछ।
९. गुरु-भक्ति
आफ्ना गुरु, सन्दीपनी मुनिप्रति कृष्णको भक्तिले आध्यात्मिक परम्परामा गुरु-शिष्य सम्बन्धलाई दिइएको गहिरो सम्मान र महत्त्वलाई जोड दिन्छ। ईश्वरीय अवतार भए पनि, कृष्णले आफ्नो गुरुको सेवामा नम्रता, आज्ञाकारिता र समर्पण देखाउनुभयो। यसले हामीलाई गुरु-भक्ति को महत्त्व सिकाउँछ।
१०. साथी, संगत र सहयोग
कृष्णले आफ्नो बाल्यकालको साथी सुधामा प्रति देखाएको सहयोग र उद्धार भाव बाट हामी हाम्रा साथीहरू प्रति वफादार हुन र आवश्यकताको समयमा सहयोग गर्नुपर्छ भन्ने महत्वपूर्ण पाठ सिक्न सकिन्छ ।
पाण्डवहरूका लागि श्रीकृष्णको संगतले उनीहरूलाई दैवी मार्गदर्शन ल्यायो भने शकुनीको संगतले कौरवहरूलाई विनाशको वर्षा गर्यो। यस बाट जीवनमा असल मानिसको संगत जरूरी छ भन्ने पाठ सिक्न सकिन्छ। यी शिक्षाहरूले जीवनलाई सही मार्गमा हिँड्न, समस्याहरूको समाधान खोज्न र अध्यात्मिक मार्गदर्शन पाउन मद्दत गर्छन्।
(उत्तम बसेल लामो समयदेखी शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । उहाँ शिक्षाका साथै सम-सामयिक विषयमा कलम चलाउन रुचाउनुहुन्छ ।)
प्रतिक्रिया दिनुहोस