आफैँमा मौलिक लोक गीत, संगीत र साहित्यको उर्वरभूमी हो, लमजुङ । लमजुङको माटोले राष्ट्रकवि माधवप्रसाद घिमिरे, ठाडोभाका शिरोमणि भेडीखर्के साइँला (दीर्घराज अधिकारी)का साथै ‘लोक श्वर सम्राट’ राजु परियार, मखमली आवाजका धनी सर्वप्रिय गायिका बिमाकुमारी दुरा, सर्वप्रिय श्रष्टा कृष्णसुदा ढुंगाना लगायतका दर्जनौँ ख्यातिप्राप्त श्रष्टा जन्माएको छ । हुर्काएको छ ।
अग्रजहरुको त्यही पथलाई पछ्याउँदै गीत–संगीत र साहित्यमा भविष्य खोज्नेहरु धेरै छन् । त्यसैमध्येको एक हुनुहुन्छ, गायिका शारदा रसाइली ।
सानैदेखी गीत–संगीतमा रुचि
लमजुङ सुन्दरबजार नगरपालिका–५, तार्कु खहरेकी शारदामा सानैदेखी गीत संगीतप्रतिको ‘मोह’ थियो । गाउँघरमा हुँदा मेलापात, उकाली–ओरोली गर्दा अग्रजहरुले गाएका सञ्चारमाध्यमबाट सुनेका/हेरेका गीतहरु गुनगुनाउनुहुन्थ्यो ।
विद्यालयमा सञ्चालन हुने विभिन्न कार्यक्रमको अवसरमा आफ्नोे गायकी प्रस्तुत गर्नुहुन्थ्यो, शारदाले । उहाँले गीत गाउँदै गर्दा शिक्षक, साथीहरुले श्वर राम्रो रहेकाले गीत–संगीतमा लाग्न भन्दै हौसला दिन्थे । त्यसैले पनि उहाँलाई गीत– संगीतमा लाग्न प्रेरणा मिल्यो ।
‘गीत–संगीतमा सानैदेखीको रुचि थियो । अग्रजहरुका गीत गाउँथे । स्कुलमा गाउँदा सर साथीहरुले ‘गायकी राम्रो छ’ भन्दै हौसला दिनुहुन्थ्यो । त्यसैले पनि यस क्षेत्रमा लाग्न प्रेरणा मिल्यो । यसै क्षेत्रमा लागिरहेको छु,’ शारदाले भन्नुभयो ।
गीत–संगीतमै भविष्य खोज्दै लमजुङबाट काठमाडौँसम्मको यात्रा
२०६८ सालमा स्थानीय विद्याज्योति माविबाट एसएलसी परीक्षा दिने बित्तिक्कै गीत–संगीतमै भविष्य खोज्दै लमजुङबाट काठमाडौँसम्मको यात्रा तय गर्नुभयो, उहाँले ।
लमजुङबाट काठमाडौँ आएपछि उहाँले आफ्नो पढाइ र संगीत यात्रालाई अगाडि बढाउन दोहोरी साँझमा गाउन थाल्नुभयो । दोहोरी साँझमा गाउँदै, पढ्दै संगीत यात्रालाई अगाडि बढाउनुभयो ।
एक दशक बढि समय लोक गीत–संगीत क्षेत्रमा आफ्नो समय व्यतीत गरिसक्नुभएको छ, उहाँले । दोहोरी साँझबाट आफ्नो गायन यात्रा सुरु गर्नुभएकी गायिका शारदाले अहिले व्यवसायिक रुपमा धेरै गीत गाइसक्नुभएको छ ।
२०७५ सालमा पहिलोपटक उहाँले आफ्नै शब्द, संगीत र गायनमा ‘रित्तो रित्तो’ बोलको एकल लोक गीत रेकर्ड गर्नुभयो । उहाँले धेरै गीतमा आफ्नो ‘मधुर श्वर’ मिसाइसक्नुभएको छ ।
उहाँले गाएका अतित, पल्टने लाहुेरदाइ, भुइँचालो, मनकोे व्यथा, आउँ नाचौँ लगायतका गीत चर्चित छन् । यस्तै, भर्खरै मात्र उहाँले बजारमा ल्याएको तीज गीत ‘सुनरी केशैमा’ दर्शक–श्रोताले रुचाएका छन् ।
निरन्तरको लगन, परिश्रम र संगीतप्रतिको अगाध अनुराग र संगीत साधनाले शारदा अहिलेको स्थानसम्म आइपुग्नुभएको हो ।
‘संघर्ष त छ । संघर्ष गर्नैपर्यो । संगीत संस्कार पनि हो । यसप्रतिको मायाले अहिले पनि संगीत साधनामै छु,’ मुस्कराउँदै उहाँले भन्नुभयो ।
हाल उहाँ ललितकला क्याम्पस काठमाडौँमा संगीत पढ्दै हुनुहुन्छ । ‘संगीत पढ्दै छु । सिक्दै छु । हरेक क्षेत्रमा पढेर, बुझेर, सिकेर लाग्दा राम्रो हुन्छ,’ उहाँले भन्नुभयो ।
काठेभाका गायनमा व्यस्त
विशेषगरी : उहाँ अहिले ‘काठेभाका’ गायनमै व्यस्त हुनुहुन्छ । आधुनिक गायनमा पनि आफ्नो रुचि रहेको बताउने गायिका शारदाले भन्नुभयो, ‘सुगम संगीतमा पनि रुचि छ । तर अहिले मौलिक लोक गीत-संगीतमै क्रियाशिल छु । मैले गाएका काठेभाका तुलनात्मक रुपमा धेरैले रुचाउनुभएको छ ।’
अहिले पढाइसंगै उहाँ गीत ‘रेकर्डिङ’मै व्यस्त हुनुहुन्छ, गायिका शारदा । आफ्नै मेहनतका साथै घर–परिवारको माया, साथ सहयोगले यहाँसम्म आइपुग्न सफल भएको उहाँ स्मरण गर्नुहुन्छ ।
गीत–संगीतमा साधनारत शारदा अहिले पनि आफु संघर्षरत नै रहेको बताउनुहुन्छ । ‘गीत संगीतकै क्षेत्रमा छु । संगीत पढ्दै छु । निरन्तर यसै क्षेत्रमा लाग्ने सोँच छ,’ उहाँले भन्नुभयो ।

एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस