२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

अस्तित्व संकटमा ग्रामीण विद्यालयहरू !

  • २०८२ श्रावण २, शुक्रबार मा प्रकाशित १ साल अघि
  • -उत्तम बसेल-
    दुई दशक अघिसम्म डाँडाकाँडा क्षेत्रका कतिपय सामुदायिक माध्यमिक विद्यालयहरू शैक्षिक उत्कृष्टताको पहिचान बनेका थिए । अहिले समयले कोल्टे फेर्यो ।

    अब ती विद्यालयहरूमा भवन, पुस्तकालय, प्रयोगशाला, खेलमैदान जस्ता पूर्वाधार पर्याप्त गराए पनि, शिक्षकहरूको क्षमता अभिवृद्धि गरेर गुणस्तरीय शिक्षा प्रदान गरे पनि, छात्रवृत्ति र प्रोत्साहन कार्यक्रम जति दिए पनि, खेलकुद गतिविधि जस्ता अतिरिक्त क्रियाकलाप गरेपनि, डिजिटल कक्षा र ई–लर्निङको प्रयोग बढाए पनि—एकातर्फ विद्यार्थी प्रति वर्ष घट्दो क्रममा छन् । अर्कोतर्फ विद्यालयहरूमा पहिलेजस्तो शैक्षिक उर्जा, सामाजिक प्रतिबद्धता र सामुदायिक एकता र संलग्नता देखिँदैन ।

    कारणहरूमा हामी जानकार छौ नै तथापी सार्वजनिक (सरकारी) संरचनामा आबद्ध भएकाले विद्यालयहरूले समयानुकूल नीतिगत वा व्यवस्थापकीय रूपान्तरण गर्न नसकेको यथार्थ छ । त्यसमाथि, न्यून जन्मदर तथा तीव्र शहरमुखी बसाइँसराइले विद्यार्थी संख्या वर्षेनी घटाइरहेको छ ।

    यदि यो परिस्थिति २/४ वर्ष यस्तै रही रह्यो भने, विगतमा ‘चर्चित’ ठानिएका विद्यालयहरू समेत अस्तित्व संकटको स्थितिमा आउने अवस्था देखिन्छ ।
    यो प्रसङ्ग केवल विद्यालयको सीमित सन्दर्भमा मात्र होइन—यो सम्पूर्ण ग्रामीण समाजको भविष्यसँग गहिरो रूपमा गाँसिएको विषय हो।

    विद्यालयको अस्तित्व भनेको केवल शिक्षण संस्थाको उपस्थिति मात्र होइन; यो समाजको सांस्कृतिक मूल्य, स्थानीय पहिचान, र पुस्तान्तरणको सशक्त माध्यम हो। यदि गाउँमा विद्यालय हराउँछ भने, त्यहाँको भविष्यका सम्भावनाहरू पनि क्रमशः ओझेलमा पर्दै जान्छन् र दिउँसै अँध्यारो हुने दिशातर्फ लम्किन्छ ।

    अब यहाँ मूल प्रश्न खडा हुन्छ—के हामी यो स्थितिलाई ’समयको स्वाभाविक परिणति’ ठान्दै निष्क्रिय मौनतामा बस्ने ? अथवा अब नयाँ दृष्टिकोण र सोचका साथ गम्भीर विमर्श प्रारम्भ गर्दै विद्यालय र समाजको पुनरुत्थान तथा पुनर्जागरणको यात्रामा अग्रसर हुने ?

     (उत्तम बसेल लामो समयदेखी शिक्षण पेशामा आवद्ध हुनुहुन्छ उहाँ शिक्षाका साथै समसामयिक विषयमा कलम चलाउन रुचाउनुहुन्छ )

    प्रतिक्रिया दिनुहोस