२०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

हराउँदै पाटी-पौवा : संरक्षणको जरुरी

  • २०८३ भाद्र ३०, मंगलबार मा प्रकाशित ४ हफ्ता अघि
  • लमजुङ–आवतजावतका लागि सडक सुविधा । खान, बस्नका लागि होटल, रेष्टुरेण्टको व्यवस्था हुँदैन थियो विगतमा । त्यसैले पनि बटुवा, तीर्थयात्रीहरुको सहजताका लागि बाटो छेउछाउ पाटी–पौवा बनाइएका हुन्थे ।

    दुई दशक अघि पाटी, पौवाको उपयोग र महत्व बेग्लै रहेको पुरानो पुस्ता स्मरण गर्छन । उनीहरुका अनुसार पहिले अहिलेझैँ सडक सुविधा थिएन । गास र बासका लागि होटल थिएनन् । बाटोका छेउछाउमा घरहरु पनि खासै हुन्थेनन्  ।  त्यसैले बटुवाका लागि बेलुका खान र बस्न सहज होस् भनी पानीका सुविधा भएका ठाउँ नजिकै पाटी–पौवा बनाइएका हुन्थे । ऊबेला यसको छुट्टै महत्व थियो ।

    जानकारहरुका अनुसार पौवा ठूला हुन्थे । विशेषगरी, पौवा झिंगटी र ढुंगाले छाइएका हुन्थे । पाटी खरले छाइएका हुन्थे ।

    आकाशबाट पानी आउँदा बुटवाहरु पाटीको तल्लो भागमा खाना पकाइ खान्थे । अरुबेला नजिकै रहेका धारा, कुवा नजिक गइ खाना पकाउँथे । खान्थे । खाना खाएपछि आगो निभाई आफूसँग ओढ्ने, ओछ्याउने जे छ, त्यही प्रयोग गरी पाटीमा बटुवा रात बिताउँथे ।

    समयक्रमसँगै अहिले पुराना पाटी पौवाहरु हराउँदै गएका छन् । कति भित्किएर गए भने कतिको संरक्षण हुन सकेको छैन । ती मौलिक ग्रामीण सम्पदा हराउँदै गएकोमा बुढापाकाहरु ‘नमज्जा’ मान्छन । अहिले गाउँघरमा प्रायः सबै गाउँबस्तीमा समेत सडकको पहुँच पुगेको छ । सडक विस्तारसँगै विगतमा बुटवाहरुका लागि बनाइएका परम्परागत, ऐतिहासिक एवं सांस्कृतिक महत्वका ग्रामीण सम्पदा पाटी, पौवा नासिँदै गएका छन । कहिँकतै रहेका पाटी, पौवा जीर्ण छन् । तिनको पनि संरक्षण हुन सकिरहेको छैन ।

    पछिल्लो समय बढ्दो जनसंख्या, अव्यवस्थित बस्ती विकास, आधुनिक जीवनशैलीका साथै संरक्षण– संवद्र्धनमा ध्यान नपुगेका कारण परम्परागत कला, कौशल र मौलिक कलात्मक रुपमा बनाइएका सम्पदाहरु संकटको संघारमा पुगेका पाको पुस्ता बताउँछन् । पाटी, पौवा हराउँदै गएका छन् । तर शहरबजारमा यात्रुहरुका लागि ठाउँठाउँमा प्रतिक्षालय त बनाइएका छन् । तर तिनमा पाटी, पौवाको जस्तो मौलिकता भने झल्कदैन ।

    गाउँगाउँमा सडक विस्तारले तीव्रता पाएसँगै पछिल्लो सयम मौलिक परम्परागत, सम्पदा निकै न्यून मात्रामा देख्न पाइन्छ । ग्रामीण परिवेशको कुनै कालखण्डको इतिहासको साक्षी बनेर संरक्षणको पखाईमा बसेका यस्ता सम्पदाको संरक्षण गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।

    समय र प्रविधिको अनेकन विकासले मानिसको भौतिक जीवन सरल, सहज त बनाएको छ । तर पनि भावी पुस्ताका लागि भए पनि नेपालीपन बोकेका, ग्रामीण परिवेश झल्किने, समेटिने यस्ता ग्रामीण सम्पदाको संरक्षण गर्नु आवश्यक छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑