२०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

राजशान्ति फाउण्डेसनद्वारा रत्न प्राविका विद्यार्थीलाई पोशाक वितरण : विद्यार्थीलाई अध्ययनमा प्रेरित गर्ने उद्देश्य

  • २०८३ जेष्ठ २४, आईतबार मा प्रकाशित ५ दिन अघि
  • लमजुङ–राजशान्ति फाउन्डेसनले लमजुङको दोर्दी गाउँपालिका–१ बेलघारीस्थित रत्न प्राथमिक विद्यालयका ५६ जना विद्यार्थीलाई ५६ सेट विद्यालय पोशाक (ट्रयाकसुट) वितरण गरेको छ ।

    विद्यार्थीलाई शैक्षिक वातावरणमा सहजता प्रदान गर्नुका साथै अध्ययनप्रति थप प्रेरित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा फाउन्डेसनका संस्थापक राजकुमार सुनारकी आमा कृष्णकुमारी सुनारले शुक्रबार ट्रयाकसुट वितरण गर्नुभएको हो ।

    फाउन्डेसनका अनुसार उक्त सहयोगबाट विद्यालयमा अध्ययनरत गरिब, असहाय, दलित तथा विपन्न परिवारका विद्यार्थीलाई प्रत्यक्ष राहत पुगेको छ । विद्यालय पोशाक अभावका कारण हुने असहजतालाई कम गर्दै उनीहरूको नियमित अध्ययनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो ।

    विद्यालयका प्रधानाध्यापक मैतकाशी घलेले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस्तो सहयोगले बालबालिकामा शिक्षाप्रति उत्साह अभिवृद्धि हुनुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो ।

    उनले विद्यालयका विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराएकोमा राजशान्ति फाउन्डेसनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमले निरन्तरता पाउने अपेक्षा व्यक्त गर्नुभयो ।

    राजशान्ति फाउन्डेसनका संस्थापक राजशान्ति (राजकुमार) सुनारले शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा फाउन्डेसनले निरन्तर काम गर्दै आएको बताउनुभयो ।

    उहाँले आवश्यकता भएका विद्यालय तथा विपन्न समुदायका बालबालिकालाई लक्षित गरी आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

    ५६ जना विद्यार्थीलाई ५६ सेट ट्रयाकसुट वितरण गरिएको उक्त कार्यक्रमले स्थानीय स्तरमा सामाजिक सहकार्य, परोपकार र शिक्षाप्रतिको सामूहिक जिम्मेवारीलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको छ ।

    स्थापनाकादेखी सामाजिक सेवाका क्षेत्रमा क्रियाशिल राजशान्ति फाउण्डेसनले आगामी दिनमा पनि यस्ता सामाजिक परोपकारी कार्यलाई निरन्तरता दिइने फाउण्डेसनका संस्थापक राजशान्ति सुनारले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस