
लमजुङ–आगामी फागुन २१ गते हुँदैछ, प्रतिनिधि सभा निर्वाचन–२०८२ । चुनावका लागि देशभर विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनय दर्ता समेत गरिसकेका छन् । अहिले यत्रतत्र, सर्वत्र चुनावकै विषयमा चर्चा हुने गरेको छ ।
लमजुङ : एक निर्वाचन क्षेत्र, १२ उम्मेदवार
यस्तै, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको पहाडी जिल्ला लमजुङमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसपाली जिल्लामा विभिन्न दलका साथै स्वतन्त्र उम्मेदवारसमेत गरी विविध पृष्ठभूमिका उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
नेपाली कांग्रेसबाट क्वहोलासोँथार गाउँपालिका–८ लमजुङका गमप्रसाद गुरुङले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । गुरुङ पहिलो पटक चुनावी प्रतिष्पर्धामा उत्रनुभएको हो ।
कांग्रेसले यस निर्वाचनलाई प्राथमिकताका साथ लिएको जनाउँदै संगठन सुदृढ बनाउँदै चुनावी तयारीलाई तीव्र पारेको छ ।
गुरुङ जिल्लाको पुर्व उप–सभापति र पार्टीको चौधौँ अधिवेसनमा जिल्ला सभापतिको उम्मेदवाार समेत हुनुहुन्थ्यो । उहाँ गाउँमै व्यवसायिक कृषि कर्ममा पनि जुट्नुभएको छ ।
यसैगरी, नेकपा एमालेबाट एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ उम्मेदवार बन्नुभएको छ । क्वहोलासोँथार गाउँपालिका–९ लमजुङका
एमालेले अनुभव र विकासका मुद्धालाई अघि सार्दै चुनावी प्रतिस्पर्धामा होमिएको जनाएको छ । गुरुङ यसअघि ८ पटक उम्मेदवार बनिसक्नुभएको छ ।
क्वहोलासोँथार गाउँपालिका–९ लमजुङमा जन्मनुभएका उहाँ लमजुङबाट नवौँ पटक चुनावी मैदानमा हुनुहुन्छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विभाग सदस्य धर्मराज के.सी. उम्मेदवार बन्नुभएको छ । सुन्दरबजार नगरपालिका–६, लमजुङका उहाँ यस अघिको प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट पराजित हुनुभएको थियो ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट हरिजंग तामाङले प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनुभएको छ । युवाको सहभागिता र वैकल्पिक राजनीतिलाई जोड दिँदै चुनावी प्रतिस्पर्धामा उत्रिएको उहाँको भनाइ छ ।
स्वतन्त्र उम्मेदवारका रूपमा मध्यनेपाल नगरपालिका–१० जिताका सन्तोष घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । दलभन्दा माथि उठेर जनताको प्रत्यक्ष आवाज संसदमा पुर्याउने उहाँको दाबी छ । यसैगरी जिल्लामा अन्य दल तथा संगठनबाट पनि उम्मेदवारी दर्ता भएका छन् ।
नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगरपालिका–१०, भक्तपुर निवासी गुजेश्वरी प्रजापती मगजु, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राइनास नगरपालिका–६ का रविन्द्र नखोला, श्रम संस्कृती पार्टीबाट दोर्दी गाउँपालिका–७ का कोषलाल गुरुङले लमजुङबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मस्र्याङ्दी गाउँपालिका–२, लमजुङका निवासी केविन्द्रजंग गुरुङले राष्ट्रिय प्रजातन्त्र पार्टी, दोर्दी गाउँपालिका–४ का भरत गुरुङले नेशनल रिपब्लिक नेपाल, राइनास नगरपालिका–३, लमजुङका मिलन बाँस्कोटाले जनादेश पार्टी र पोखरा महानगरपालिका–१० का विकास गुरुङले मंगोल नेशनल अर्गनाइजेशनबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराइसक्नुभएको छ ।
उम्मेदवारी दर्ता सम्पन्न भएसँगै आफ्नो पक्षमा मत पार्न लमजुङमा दल तथा दलका उम्मेदवार र अन्य उम्मेदवारहरुले विभिन्न माध्यमबाट चुनावी प्रचार–प्रसार, मतदाता भेटघाट तथा राजनीतिक गतिविधिलाई अघि बढाएका छन् ।
प्रतिक्रिया दिनुहोस