२०८३ भाद्र १६, मंगलबार | Tue, 01, Sep, 2026

देशभर मनसुन सक्रिय : सबै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २०८२ श्रावण २८, बुधबार मा प्रकाशित १ साल अघि
  • आज सात वटै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एक/दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले देशभर मनसुन सक्रिय छ । अहिले पनि कोशी, मधेश, बागमती प्रदेशको थोरै ठाउँमा तथा बाँकी प्रदेशको एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एक/दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

    आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै ठाउँमा र बाँकी प्रदेशको पहाडी र तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै नदी किनार, डुबान हुने क्षेत्र र पहिरो जान सक्ने सम्भावित ठाउँमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । भोलि र पर्सि आजको तुलनामा कम पानी पर्ने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस