२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

२ सय १२ औँ भानु जयन्ती : लमजुङमा आदिकविको सम्झना !

  • २०८२ अषाढ २८, शनिबार मा प्रकाशित १ साल अघि
  • कृष्ण आले
    लमजुङ-नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती बेसीशहरमा साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ । लिस्नो साहित्यिक मञ्च नेपाल र प्रकृति नारी समाजको संयुक्त आयोजनामा बेसीशहरमा सम्पन्न भएको हो ।

    कार्यक्रममा आदिकविको जीवन, योगदान र नेपाली भाषा साहित्यमा पुर्याउनुभएको भूमिकासम्बन्धी चर्चा गरिनुका साथै भानुभक्तको काव्य परम्परालाई सम्मान गर्दै समसामयिक सन्दर्भमा लेखिएका कविता वाचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि, साहित्यकार तथा नेपाली साहित्यका ज्ञाता अंगराज घिमिरेले भानुभक्तलाई नेपाली साहित्यको स्तम्भ भन्दै उनको योगदानलाई युगीन र कालजयी भनेका थिए ।

    कविता वाचनमा माधव थापा, नोर्देन तामाङ, दीपक पाण्डेय, भरत घिमिरे, बासुदेव थापा, बसन्त अधीर, विनिता देवकोटा, कमला दनाई, रमराज खनिया, कमला केसी, अजित बहादुर अधिकारी, कल्पना सेढाई, देवीदास बराल, कृष्ण आले र सोहन परियारजस्ता स्रष्टाहरुको सहभागिता थियो ।

    कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका साहित्यानुरागीहरू साथै सरस्वती आमा समूह, ह्यल्मो आमा समूह, कर्पुरेश्वर आमा समूह र बाबा आमा समूहका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता प्रकृति नारी समाजकी अध्यक्ष अतिरुपा सेढाईले गर्नुभएको होे । स्वागत मन्तव्य लिस्नो साहित्यिक मञ्च नेपालका संस्थापक अध्यक्ष बसन्त अधिकारीले राख्नुभएको हो । कार्यक्रमको सञ्चालन मञ्चका उपाध्यक्ष बासुदेव सेढाईले गर्नुभएको होे ।

    भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीराम्घामा भएको थियो । संस्कृत भाषाको रामायणलाई नेपालीमा अनुवाद गरेर नेपाली भाषा र साहित्यमा ऐतिहासिक योगदान दिनुभएका भानुभक्तका भक्तमाला, रामगीता, प्रश्नोत्तर लगायतका काव्य कृति आज पनि जनमानसमा जीवित छन्।

    उहाँका काव्यकृति तथा पाण्डुलिपिहरूलाई मोतिराम भट्टले संग्रह र प्रकाशन गरेपछि भानुभक्त नेपाली साहित्यमा एक ऐतिहासिक व्यक्तित्वका रूपमा स्थापित हुनुभएको हो ।

    प्रतिक्रिया दिनुहोस


    ↑