
लमजुङ-नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूको टोली आइतबार लमजुङको बेसीशहर आईपुगेको छ । पार्टीभित्रको संगठनात्मक सुदृढीकरण, स्थानीय संरचनाहरूको सक्रियता र भावी कार्यदिशाबारे जिल्लास्तरीय अन्तरक्रिया गर्न उनीहरू बेसीशहर आएका हुन् ।
नेपाली कांग्रेस लमजुङ जिल्ला कार्य समितिद्वारा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा केन्द्रिय सदस्यहरू नारायण प्रसाद साउद (एन. पी. साउद), डा. डिला संग्रौला, गोविन्द बहादुर शाही, अब्दुल सत्तार र चम्पा खड्काले पार्टी संगठन सुदृढ बनाउने विविध पक्षबारे मार्गदर्शन प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै एन. पी. साउदले पार्टीलाई सुदृढ बनाउन विधान संशोधन आवश्यक रहेको बताउँदै सबै नेता तथा कार्यकर्ताहरूलाई विधानको अधीनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
साउदले उम्मेदवार छनोट गर्ने अधिकार स्थानीय कार्य समितिलाई दिनुपर्ने र पार्टी संरचना पिरामिड शैलीमा निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।
डा. डिला संग्रौलाले नेपाली कांग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादको बिउ भएको बताउँदै गणतन्त्रले जनताको अवस्था परिवर्तन गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
अन्य केन्द्रिय सदस्यहरू गोविन्द बहादुर शाही, अब्दुल सत्तार र चम्पा खड्कासहित प्रदेश सांसदहरू, पूर्व पार्टी सभापति र जिल्लास्तरीय नेताहरूले समेत आफ्नो धारणा राखेका थिए । कार्यक्रममा पूर्व जिल्ला कार्यसमितिका पदाधिकारी, हालका जिल्ला समिति सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू, पार्टीबाट निर्वाचित जनप्रतिनिधि तथा क्रियाशील सदस्यहरूको उल्लेख्य उपस्थिति थियो । पार्टी सुदृढीकरणका लागि स्थानीय तहसम्म व्यापक संवाद र सहभागिता आवश्यक रहेको सहभागीहरूको धारणा छ ।
अन्तरक्रिया कार्यक्रम जिल्ला उपसभापति आनन्द घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव कृष्ण बहादुर अधिकारीले गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस