२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

आगामी दिनमा अझ प्रभावकारी ढंगले योजनाहरू कार्यान्वयन गरिनेछ : सुन्दरबजार नगरपालिका

  • २०८२ जेष्ठ २८, बुधबार मा प्रकाशित १ साल अघि
  • लमजुङ–सुन्दरबजार नगरपालिकाले नगर कार्यपालिकाको विगत तीन वर्षको कार्यप्रगति सार्वजनिक गर्दै एक पत्रकार सम्मेलनमार्फत प्रमुख उपलब्धिहरूको जानकारी गराएको छ।

    पत्रकार सम्मेलन मार्फत उपलब्धि सार्वजनिक गर्दै नगर प्रवक्ता नबिन कुमार श्रेष्ठले संविधान प्रदत्त अधिकारअनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई आत्मसात गर्दै स्थानीय तह सुदृढ र सबल बनाउने दिशामा नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए। उनले जनताका अपेक्षा, योजना र आवश्यकतालाई प्राथमिकतामा राखेर नगरको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी तथा नागरिकको सहकार्यमा सुन्दरबजार अगाडि बढिरहेको उल्लेख गरे।

    पत्रकार सम्मेलनमा प्रस्तुत प्रतिवेदनअनुसार सुन्दरबजार नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सडक, खानेपानी, सरसफाइ, कृषि प्रवद्र्धन, वातावरण संरक्षण, रोजगारी सिर्जना, महिला सशक्तिकरण लगायतका क्षेत्रमा योजनाबद्ध काम गर्दै आएको छ। स्थानीय कानुनी संरचना निर्माण, ऐन, नियमावली, कार्यविधि तथा निर्देशिका तयार पार्ने कार्यमा पनि महत्वपूर्ण प्रगति भएको बताइएको छ।

    पत्रकार सम्मेलनमा पत्रकारद्वारा उठाईएका सबालहरुको बारेमा बोल्दै नगर प्रमुख कृष्ण प्रसाद कोईरालाले संघीय संरचनाअन्तर्गत स्थानीय तह जनताको सेवामा सबैभन्दा नजिकको सरकार भएकोले नागरिकलाई छिटो, छरितो तथा गुणस्तरीय सेवा दिन सबै शाखा र वडा कार्यालयहरु क्रियाशील बनाइने प्रतिबद्धता व्यक्त गरे। स्रोत साधनको सीमितता हुँदाहुँदै पनि जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीबीचको समन्वयमा समावेशी र न्यायपूर्ण सेवा प्रवाह गर्न प्रयासरत रहेको सो क्रममा नगर प्रमुख कोईरालाले जानकारी दिए ।

    उनले जनताको ढोका–ढोकामा सेवा पुर्‍याउने सेवामुखी सरकार बन्ने प्रयास निरन्तर जारी रहेको बताए। नगर प्रमुख कोईरालाले समृद्ध, आत्मनिर्भर र युवालाई गाउँमै रोजगारी दिने वातावरण बनाउने प्राथमिकताका साथ काम गरिरहेको बताए ।

    कार्यक्रममा नगर उपप्रमुख भवानी के.सी.ले नीति निर्माणमा लैङ्गिक तथा सामाजिक समावेशीतालाई विशेष ध्यान दिँदै महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य र साना उद्यम प्रवर्द्धनमा ठोस कदम चालिरहेको बताईन् ।

    प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले नागरिकको सेवामा चुस्त र छरितो ढंगले कार्य सम्पादन गर्न सबै कर्मचारीलाई जिम्मेवारीका साथ अघि बढाइएको बताए। नगरपालिकाका कानुनी संरचना, कार्यविधि, नियमावलीलाई व्यवस्थित गर्दै पारदर्शिता, सुशासन र जवाफदेहिताको संस्कृति निर्माण आफुहरुको प्रमुख उद्देश्य रहेको प्रमुख प्रशासकीय अधिकृत घर्तीको भनाई थियो ।

    नगरपालिकाले उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै आगामी दिनमा अझ प्रभावकारी योजनाहरू कार्यान्वयन गरिने विश्वास व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    ↑