२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

वर्षमा एउटा चलचित्रमा काम गरी कलाकारिता क्षेत्रमा नै रमाउने छु : महानायक राजेश हमाल

  • २०८२ जेष्ठ २८, बुधबार मा प्रकाशित १ साल अघि
  • महानायक राजेश हमालले वर्षमा एउटा चलचित्रमा काम गरी कलाकारिता क्षेत्रमा नै रमाउने बताएका छन् ।

    ६१औं जन्मदिनको अवसरमा ‘युगदेखि युगसम्म’ पुस्तक अनावरण कार्यक्रममा अभिनेता हमालले वर्षमा एउटा चलचित्र लिएर दर्शकसम्म पुगी यसै क्षेत्रमा रमाउने चाहना रहेको बताए ।

    उनले भने, ‘केही वर्ष म चलचित्रबाट हराएँ । किनकि मैले खोजेको जस्तो विषयवस्तु र निर्माण समूहसँग जोडिन पाएको थिइँन, तर अब वर्षमा एउटा चलचित्रमा काम गर्ने सोच बनाएको छु । म जति समय काम गर्छु, एउटा चलचित्र बर्सेनि दर्शकसम्म पुगोस् भन्ने चाहना छ, यद्यपि त्यसका लागि राम्रो विषयवस्तु चाहिन्छ ।’

    उनले आउँदो वर्ष पुनः नयाँ चलचित्र लिएर दर्शकसमक्ष पुग्ने बताए ।

    ‘अहिले प्रदर्शनरत चलचित्र ‘नरसिंहा अवतार’का क्रममा दर्शकसँग भेटघाट गर्दा पनि उहाँहरूको इच्छा चलचित्रबाट गायब नभइदिएहुन्थ्यो भन्ने पाएँ । सोही कारण पनि नयाँ चलचित्रको तयारी गरिरहेको छु, तर हतार गरेर काम गर्ने पक्षमा भने म छैन,’ हमालले भने ।

    पुस्तकका विषयमा जानकारी दिँदै उनले ३५ वर्ष लामो कलाकारिता यात्रामा सार्वजनिक नभएको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषयलाई समेटिएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस