
लमजुङ-गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता तथा नेपाली कांग्रेस लमजुङका सभापति डाक्टर टकराज गुरुङले स्वस्थ जीवन–यापनका लागि समय सापेक्ष स्वास्थ्य परीक्षण अनिवार्य भएको बताउनुभएको छ ।
सामुदायिक रेडियो मस्र्याङदीको १९ औँ स्थापना दिवसको अवसरमा राइनासको कुँडुलेमा आयोजित निशुल्क स्वास्थ्य शिविरको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कुनैपनि व्यक्तिलाई रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भन्दै स्वास्थ्य शिविरजस्ता कार्यक्रमहरुले नागरिकलाई सचेत गराउने मन्त्री गुरुङको भनाई थियो ।
पछिल्लो समय बढ्दो विदेश पलायन तथा शहर उन्मुख बसाईसराइँले गाउँहरु खाली हुँदै गएको भन्दै मन्त्री गुरुङले बसाईसराइँ रोक्न गाउँ लक्षित विकास निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री गुरुङले राइनासको विकासका लागि राइनास चक्रपथलाई प्राथमिकतामा राखेर काम भईरहेको समेत उल्लेख गर्नुभयो ।

सोहि कार्यक्रममा बोल्दै राईनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले भौगोलिक विकटताको कारण राइनासको ग्रामिण भेगमा स्वास्थ्य सेवा अपेक्षित सहज नभएपनि समय सापेक्ष आयोजना हुने नि : शुल्क स्वास्थ्य शिविरले नागरिकलाई लाभ मिलेको उल्लेख गर्नुभयो ।
नगरप्रमुख गुरुङले सामुदायिक रेडियोले समुदाय लक्षित सामाजिक क्रियाकलापमा सहभागी भएर दुर्गम गाउँहरुमा स्वास्थ्य शिविर आयोजना गरेकोमा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
सामुदायिक रेडियो मस्र्याङदी ९५ मेगाहर्जका निर्देशक मिना गुरुङको अध्यक्षतामा भएको शिविरको औपचारिक उद्घाटन कार्यक्रममा नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले शिविरमा उपलब्ध सेवासँगै अस्पतालका सेवाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सहजिकरण रेडियो स्टेशन म्यानेजर सन्देश पौडेलले गर्नुभएको थियो । कार्यक्रममा नमुना सामुदायिक अस्पताल विकास समिति अध्यक्ष एवं नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी, जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमबहादुर गुरुङ, तमु एकता आमा समूह अध्यक्ष डिलमाया गुरुङ लगायत स्थानियहरुको विशेष उपस्थिति रहेको थियो ।
सामुदायिक रेडियो मस्र्याङदीले आफ्नो १९ औँ स्थापना दिवसको अवसरमा राईनास नगरपालिका–९, कुँडेलेमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस