२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

गण्डकीमा ४ अर्ब १७ करोड रुपैयाँकाे सुन्तला उत्पादन : लमजुङमा ८० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन

  • २०८१ माघ २१, सोमबार मा प्रकाशित १ साल अघि
  • गण्डकी प्रदेशमा यस वर्ष ४ अर्ब १७ करोड २७ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्कानुसार ६६ हजार ५ सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । प्रदेशका ९ वटा जिल्लामा ५ हजार ७ सय ३ हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी दिनुभयो ।

    ‘किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्यका आधारमा यो वर्ष ४ अर्ब रुपैयाँभन्दा धेरैकाे सुन्तला उत्पादन भएको छ’, उहाँले भन्नुभयो, ‘सबैभन्दा धेरै स्याङ्जामा १ अर्ब ७१ करोड ६३ लाख ९० हजार रुपैयाँ बराबरको सुन्तला फलेको छ ।’ कृषि अर्थ विज्ञ पौडेलका अनुसार तनहुँमा ६४ करोड २० लाख, गोरखामा ४० करोड २० लाख, पर्वतमा ३८ करोड ३६ लाख, म्याग्दीमा ३४ करोड २१ लाख, बाग्लुङमा २६ करोड ४६ लाख, कास्कीमा २५ करोड ९६ लाख, नवलपुरमा १३ करोड ३९ लाख र लमजुङमा ३ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको हो ।

    यस वर्ष स्याङ्जामा १९ सय ५० हेक्टर, तनहुँमा ९ सय ६८ हेक्टर, गोरखामा ७ सय ४६ हेक्टर, पर्वतमा ४ सय ६५ हेक्टर, म्याग्दीमा ४ सय २५ हेक्टर, बाग्लुङमा ३ सय ७७ हेक्टर, कास्कीमा ५ सय ४१ हेक्टर र लमजुङमा ८० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको हो । यस वर्ष ११ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको निर्देशनालयले जनाएको छ । दुई वर्षअघि ५० हजार ८ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएकाेमा यो वर्ष बढेर ६६ हजार ५ सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

    वर्षेनि सुन्तलाखेतीको क्षेत्रफल विस्तार पनि भइहेको छ । देशमै सबैभन्दा धेरै सुन्तलाखेती हुने स्याङ्जाले वर्षेनि उत्पादनको ठूलो हिस्सा ओगट्छ । गण्डकीमा मुस्ताङ र मनाङ जिल्लामा भने सुन्तलाखेती हुँदैन । किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्य ६७ रुपैयाँका आधारमा उत्पादनको कुल मूल्य निर्धारण गरिएको कृषि अर्थ विज्ञ पौडेलले जानकारी दिनुभयो । शुरूमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजान्छन् ।

    जिल्लागत रूपमा पनि सुन्तलाको औसत मूल्य फरक–फरक रहेको छ । किसानको बगैँचाबाट बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै नहुने निर्देशनालयले जनाएको छ । जिल्लाहरूले पठाएको प्रतिवेदन र तथ्याङ्क विश्लेषण गरेर प्रदेशभरिको उत्पादन सार्वजनिक गर्ने गरिएको हो । नयाँ बोटले फल दिन थाल्नु, उत्पादन क्षेत्र विस्तार, बगैँचाको सही व्यवस्थापनजस्ता कारणले सुन्तला उत्पादनमा वर्षेनि वृद्धि हुँदै आएको निर्देशनालयले जनाएको छ ।

    मुस्ताङ र मनाङबाहेक प्रदेशका ९ वटा जिल्लामा गरी कुल ८ हजार ५ सय १६ हेक्टरमा सुन्तलाखेतीले ओगटेको छ । रोगकीराको प्रकोप, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि सुरक्षित भण्डारण र ढुवानी, बजारको अभावजस्ता समस्या सुन्तला किसानले बेहोर्दै आएका छन् । बोट सुकेर मर्ने रोग, औँशे किरालगायतले पनि सुन्तलाखेतीमा क्षति पुर्‍याउने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस