
लमजुङ (सोतीपसल)–लमजुङको मध्यनेपाल नगरपालिका–३, सोतीपसलमा रहेको मंगला माविले बुधबार एक कार्यक्रमका बीच आफ्नो हीरक जयन्ती समारोह मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रको शक्तिको रूपमा रहेको श्रमशक्ति नै रित्तिएर आउन सक्ने संकटबाट जोगाउनका लागि गाउँमै आम्दानी र रोजगारीको व्यवस्था पहिलो आवश्यकता भएको बताउनुभएको छ ।
गाँउ–गाउँको माटोमा कृषि क्रान्ति गरी कृषि पेशालाई थोरै मेहेनत र श्रम खर्च गरेर बढी आम्दानी दिने सुखी पेशामा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले कृषि क्रान्तिका लागि हाम्रो शिक्षालाई उद्यमशीलतासीत जोड्नुपर्ने बताउँदै अलिकति अठोट गर्ने हो भने त्यो सम्भावना र हाम्रो जीवन यही प्रकृतिमा सुखी र खुशी हुन सक्ने स्पष्ट पार्नुभयो ।
उद्यामशीलतामा आधारित शिक्षा दिएर उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्ने र नीति निर्माता, सरकार र शिक्षण संस्थाको अर्जुनदृष्टि यसैमा केन्द्रित होस् भन्ने आफ्नो चाहना रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्राज पाण्डे, गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङको विशेष आतिथ्यता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौलाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक विष्णुहरि बास्तोलाले प्रस्तुत गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस