
काठमाडौं-सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को औपचारिक घोषणा भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रायोजक सार्वजनिक गर्दै प्रसारण मितिबारे जानकारी दिइयो ।
नयाँ सिजनको शीर्ष प्रायोजकको रुपमा दन्त मन्जन ‘क्लोज अप’ छ । पत्रकार सम्मेलनमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसालले युनिलिभरका बजार प्रमुख सौरभ राजकर्णिकारलाई टोकन अफ लभ प्रदान गरे । को-स्पोन्सरमा सनफिस्ट फ्यान्टासी र रोहोतो सनप्ले छन् ।
हिमालय टिभीका अध्यक्ष भुसालले यो कार्यक्रम लामो समयदेखि प्रसारण हुने मुलुकको रियालिटी शो रहेको बताउँदै यसका लागि टिमलाई धन्यवाद दिए । कार्यकारी निर्देशक श्याम कँडेलले छैटौं सिजनबाट बृहत दर्शकमाझ पुग्ने आफूहरुको लक्ष्य रहेको बताए ।
कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले शोको संरचना उस्तै भएपनि विषयवस्तु नयाँ हुने बताए । ‘दर्शकले नयाँ अनुभव पाउनुहुनेछ यसपटक’ पौडेलले भने । छैटौं सिजनको कोचमा उदय सोताङ, राजु लामा, मेलिना राई र खेम सेन्चुरी छन् ।
नयाँ सिजनमार्फत मंगोलियन हार्टका पपस्टार राजु लामा कोचको रुपमा फर्किएका छन् । दुई वर्षपछि शोमा फर्किने अवसर पाएको भन्दै उनले मिडियासँग संक्षिप्त कुराकानी गरे । कोचको रुपमा पहिलोपटक प्रवेश गरेका चर्चित लोकगायक सेन्चुरीले उक्त अवसरमा पछिल्लो हिट गीत ‘म त ढलें ढलें’ गाए ।
गायिका मेलिना राईले किड्सको तेस्रो सिजनपछि आफू पहिलोपटक भ्वाइस अफ नेपालमा जोडिएको बताइन् । किड्सको कोचिङको फाइदा आफूलाई यसपटक मिल्ने विश्वास उनले लिइन् ।
उक्त अवसरमा छैटौं सिजनको टिजर सार्वजनिक गरियो । यतिबेला नयाँ सिजनको ब्लाइन्ड अडिसनको छायांकन सकिएको छ । यो राउण्डबाट छनोट ६४ जना ट्यालेन्टले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस