२०८३ जेष्ठ १७, आईतबार | Sun, 31, May, 2026

बाख्रापालनबाटै उजेलिएको लमजुङ बलिथुमका ज्योतिको मुहार !

  • २०८१ भाद्र ५, बुधबार मा प्रकाशित १ साल अघि
  • सुवास मजाकोटी/समुन्नती अनलाइन
    लमजुङ–गोलो मुहार । ढल्कदो उमेर । सेताम्य केश । खुट्टामा चप्पल । शरीरमा ट्रयाक सुट । केही मोटो शरीर । तर पनि जोस–जाँगरका साथ घरैमा पालिएका बाख्राको स्याहारमै व्यस्त हुनुहुन्छ, ज्योति कुवँर ।

    गाउँको बसाइ । खेतीपाती । उकाली–ओराली गरिरहनुपर्ने । दुःख भएतापनि परिवारसंगै गाउँमै बस्दाको आनन्द छुट्टै थियो । संगै केही इलम गरी परिवारको मुहारमा खुशी छर्नुपर्ने बाध्यता पनि उहाँमा थियो । त्यसैले आफुसंगै परिवारको खुशी किन्ने रहर मनभरी पाली उहाँ विदेश जानुभयो ।

    युरोप र युएइमा गरी उहाँले आफ्नो जीवनको १९ वर्ष परदेशी भूमिमा व्यतित गर्नुभएको छ । विदेशमा कमाइ राम्रै थियो । परिवारको गर्जो सजिलै टरेको थियो । तर परदेशको जागिर, बसाइलाई थप नलम्बाउने सोच गरी उहाँ स्वदेश फिर्ती हुनुभयो ।

    ‘बाध्यता परिस्थितिले लामै समय विदेश बसियो । परदेशमा मात्रै कति दुःख गर्नु । पछि फर्कनुपर्ने त आफ्नै देश हो । बाँकी रहेको उमेर देशकै माटोमा पोख्ने सोचका साथ घर आएँ । व्यवसायिक बाख्रापालनमा होमिएँ,’ आफ्नो विदेश बसाइँको अनुभव र बाख्रापालनमा लागेको कुरा एकैचोटी उहाँले सुनाउनुभयो ।

    वार्षिक सात लाख आम्दानी
    सुन्दरबजार नगरपालिका वडा नं ८ का ज्योति कुवँरले बलिथुम गाउँमा ‘कुवँर कृषि तथा पशु फार्म’ स्थापना गरी व्यवसायिक र व्यवस्थित ढंगले बाख्रा पाल्दै आउनुभएको छ । व्यवसायिक कृषि उद्यममा होमिएको पाँच वर्ष पुरा भइसकेको छ, उहाँको ।

    बाख्रापालनबाट अहिले राम्रै आम्दानी भएको छ । सुरुमा खोर निर्माण र बाख्रा खरीद गरी पन्ध्र लाखको लगानीमा सुरु भएको उहाँको व्यवसाय अहिले थप विकास र विस्तार भएको छ । उहाँको फार्ममा अहिले पचास वटा भन्दा बढि बोयर क्रस जातका बाख्रा पालिएका छन् । साथमा सिराही जातका बाख्रा पनि पालेको उहाँले बताउनुभयो ।

    ‘बाख्रापालनबाट कमाइ ठीकै छ । बसिबियाँलो भएको छ । गाउँको जग्गाको उपयोग पनि भएको छ । परिवारकै साथमा उद्यम गर्न पाउँदा ज्यादै खुशी छु,’ मुहारमा खुशी छर्दै ज्योतिले भन्नुभयो, ‘यस व्यवसायबाट वार्षिक सात लाख हाराहारीमा आम्दानी भएको छ । सजिलै चुल्हो बलेको छ । गर्जो टरेकै छ ।’

    बाख्रापालनकै लागि उहाँले सुपर नेपियर, जै घाँस, मेन्डुला, राई खनियो, कोइरालो लगायतका घाँस पनि लगाउनुभएको छ । ‘पशुपालनका लागि घाँस नभइ हुँदैन । त्यसैले खेर गएको जग्गामा घाँस लगाएको छु,’ उहाँले भन्नुभयो ।

    आफ्नो यस उद्यमबाट सुरुदेखी नै धेरैलाई रोजगारी समेत दिनुभएका कुँवरले पछिल्लो समय कामदार पाउनै मुश्किल हुने गरेको बताउनुभयो । ‘युवाहरुमा विदेश पस्ने मोह छ । विदेश तिरै उनीहरुको ध्यान छ । कामदार पाउन गाह्रो छ,’ उहाँले तीतो अनुभव सुनाउनुभयो ।

    उत्पादन सजिलै बिक्री
    अहिले यस व्यवसायमा उहाँलाई श्रीमतिकै साथ छ । उत्पादन स्थानीय घरगाउँ, बजारमै खपत हुँदा उहाँलाई बजारको कुनै सुर्ता छैन ।
    त्यसो त उहाँले बाख्राको जुत्तो (मल) बेचेर पनि कमाइ गर्नुहुन्छ । जुत्तोलाई मेसिनले पेलेर पाउडर बनाइ ‘प्याकेजिङ’ गरी बेच्ने उहाँको लक्ष्य छ ।
    ‘मल प्याकेजिङ गरी बिक्री गर्दा राम्रो मूल्य पाइन्छ । यसबाट पनि कमाइ हुन्छ,’ उहाँले भन्नुभयो ।

    घरगाउँमै कृषि उद्यममा रम्नुभएका किसान कुुवँरलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र लमजुङले यसअघि प्राविधिक सहयोगका साथै अनुदान समेत प्रदान गरेको थियो ।

    गर्न सक्नेलाई स्वदेशमै पनि विभिन्न अवसर रहेको उहाँ बताउनुहुन्छ । ‘सम्भावना यहीँ छ । कृषि कर्म गरिरहेका र कृषि कर्म गर्न चाहनेलाई स्थानीय सरकारका साथै सम्बन्धित पक्षले सघाउनु जरुरी छ,’ उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस