२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

मनसुन बाहिरिने दिन लम्बिदै : तत्काल धान नकाट्न किसानलाई विज्ञको आग्रह

  • २०८० आश्विन १५, सोमबार मा प्रकाशित २ साल अघि
  • जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ ।

    सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलले विभिन्न विश्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपालि मनसुन केही दिन लम्बिएको बताउनुभयो । उहाँले अझै मनसुन बाहिरिन झन्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताउनुभयो ।

    यो बेलामा अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा अहिले भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली छ ।

    अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो ।
    ‘अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौँ र काट्ने बेलाको धान छ भने नकाटौँ । दुई÷तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौँ’, उहाँले भन्नुभयो ।

    मौसमविद् पौडेलका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । जल तथा मौसम विज्ञान विभागले दुई वर्षअघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज अक्टोबर २ लाई अनुमान गरेको थियो । त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । हरेक १० वर्षको विश्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ । पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ ।

    मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यही वर्ष पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ ।
    यो वर्ष नेपालमा जुन १४ अर्थात् जेठ ३१ गते मनसुन भित्रिएको थियो । तर त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरि फैलिएको थियो ।

    शुरुमा कोशी प्रदेश, मधेस र गण्डकी प्रदेशको पूर्वी भूभाग र बाग्मती प्रदेशका धेरैजसो भू–भागमा मनसुन आगमन भएको थियो ।
    यसपालि मनसुनको शुरुवाती समयमै पूर्वी नेपालमा भारी वर्षापछिको बाढी र पहिरो आउँदा ठूलो जनधनको क्षति भएको छ ।

    यसपालि १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो । मनसुनको समयमा औसतभन्दा कम पानी पर्ने अनुमानसमेत गरिएको थियो । औसतभन्दा कम पानी पर्ने अनुमानका बीच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपालललगायत केही स्थानमा भने ठूलो जनधनको क्षति गराएको छ ।

    प्रतिक्रिया दिनुहोस