
गोरखा – हरेक वर्ष बर्खा लागेपछि गोरखाको शहीद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता वर्षौदेखीकोे हो ।
खोलामा झोलुङ्गे पुलसमेत नहुँदा बर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दालाई वारिपारि गर्नुपरे लौरोको सहायताले खोलाको पानी नापेर वारपार गर्नुपर्ने बाध्यता त सामान्यजस्तै थियो ।
तर गएको वर्षदेखि लुदीखोलामा पक्की पुल बनेपछि भने वर्षौँदेखि कठिनाइ भोग्दै आएका यहाँका बासिन्दालाई ठूलो राहत मिलेको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङ र विश्व बैंकको आर्थिक सहयोगमा लुदीखोलामा पक्की पुल निर्माण भएपछि ज्यान नै जोखिम मोलेर खोला ओहोरदोहोर गर्नुपर्ने बाध्यता अब अन्त्य भएको हो ।
‘बर्खामा नदी र खोलामा यसै पनि पानी सतह बढी हुने भएकाले जोखिम हुने नै भयो,’ गोरखा –८, लक्ष्मीबजारका ६९ वर्षका हर्कबहादुर थापाले भन्नुभयो, ‘त्यसमाथि लुदीखोलामा त बर्खा लागेपछि वारपारसम्म भेल आउने भएकाले सानो आँटले खोला तर्न सकिँदैन थियो । अहिले पुल बनेपछि धेरै सजिलो भएको छ ।’
पुल नहुँदा पैदलयात्रुलाई मात्र होइन मोटरसाइकललगायतका गाडी बर्खाका बेलामा जोखिम मोलेर खोलाबाट वारपार गराउन पर्दाको कठिनाइ उस्तै थियो । मेलापात र अर्मपर्म गर्नका लागि मात्र नभएर नजिकको बजार गोरखा सदरमुकाममा पुगेर दैनिक उपभोग्य सामग्री खरिदका लागि ताक्लुङ र आसपासका बासिन्दालाई लुदीखोला वारपार नगरि सुखै थिएन ।
‘छोटो र मुख्य बाटो भएकाले पनि घन्टौँ लगाएर घुमेर सदरमुकाम पुग्नुभन्दा प्राय : जसो मानिस जोखिम मोलेरै खोला वारपार गर्ने गर्दथे,’ अर्का स्थानीयवासी रामचन्द्र ढकालले भन्नुभयो । ‘बर्खाका बेला घाँटीघाँटीसम्म आउने खोला तरेरै भए पनि काम टार्न पथ्र्यो’, उहाँले भन्नुभयो, ‘हामी कयौँ पटक लौरोले पानी नापेर पनि खोला वारपार गरियो ।’
लुदीखोलामा अहिले २१ दशमलव ७० मिटर लम्बाइ र ६ मिटर चौडाइको पक्की पुल निर्माण भए पनि यहाँका बासिन्दाले वर्षौदेखी भोग्दै आएका समस्या हटेको छ । पुल निर्माण भएसँगै गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य सामग्रीको बजारीकरणका लागिसमेत सजिलो भएको शहीद लखन गाउँपालिका–५ ताक्लुङकी सानुमाया परियारले बताउनुभयो ।
शहीद लखन गाउँपालिकाबाट लुदीखोला हुँदै पृथ्वी राजमार्गसँग जोडिएको सबैभन्दा छोटो बाटो भएकाले पनि लुदीखोलामा पक्की पुल बनेपछि त्यहाँका स्थानीयवासीलाई काठमाण्डौ, पोखरा, चितवन लगायतमा जिल्ला जान छिटो र सजिलो भएको उहाँले बताउनुभयो ।
झोलुङ्गे पुलसमेत नहुँदा यहाँका स्थानीयवासीलाई एकदिन नै लगाएर गोरखा सदरमुकाम पुग्नुपर्ने बाध्यतासमेत रहेको थियो । लुदीखोलामा कुल तीन करोड ४४ लाख ३१ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस