२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

नेपाली कांग्रेस राइनासको नगर सम्मेलन : कांग्रेसलाई मजबुत बनाउन सबै लाग्नुपर्नेमा जोड

  • २०८० आश्विन १४, आईतबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले लमजुङ, तनहुँ कांग्रेसकोे संगठनको अगुवाइ गर्ने थलो रहेको बताउनुभएकोे छ ।

    लमजुङको राइनास नगरपालिका–८, हर्राबोटस्थित सर्वोदय सेवा आश्रमको सभाहलमा आयोजित ‘नेपाली कांग्रेस राइनास नगर कार्य समितिको प्रथम नगर सम्मेलन’लाई आइतबार सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।


    कांग्रेसको स्थापनकालदेखी नै बिराटनगरपछिको कांग्रेसको संगठनको अगुवाइ गर्ने ठाउँ लमजुङ, तनहुँका साथै सिंगो पश्चिम क्षेत्र रहेको उहाँले स्मरण गर्नुभयो । उहाँले कांग्रेसको इतिहास र विरासत छुट्टै रहेकाले कांग्रेस बलियो रहेको र यसलाई थप मजबुत बनाउन सबै कांग्रेस, नेता कार्यकर्ता जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    नेपाली कांग्रेस, गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले जनताकोे मन जित्ने गरी काम गरेर मात्रै पार्टीमा आकर्षित गर्न सकिने उल्लेख गर्नुभयो ।

    नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले निर्वाचनका बेला आफुहरुले गरेका वाचा नभुलेको बताउँदै आफुहरुको कार्यकालभित्रै ती प्रतिवद्धताहरु पुरा हुने कुरामा ढुक्क रहन आग्रह गर्नुभयो ।

    नेपाली कांग्रेसका सह–महामन्त्री एवं मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेशकुमार पाण्डे, पूर्व पार्टी सभापति एवं गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल, पूर्व पार्टी सभापति एवं सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइराला, पूर्व पार्टी सभापति तुल्सीनारायण श्रेष्ठ, राइनास नगरपालिकाका नगरप्रमुख खड्गबहादुर गुरुङ, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य विष्णुमाया धिताल लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।


    नगर सम्मेलनमा नेपाली कांग्रेस राइनास नगर कार्य समितिका सभापति श्रीकृष्ण पौडेलले प्रतिवेदन र कोषाध्यक्ष दुर्गाबहादुर रानाभाटले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सम्मेलनमा नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य विजय गुरुङले स्थित पत्र प्रस्तुत गर्नुभएको हो ।

    सम्मेलनकै अवसरमा कांग्रेसका अग्रज राइनास नगरपालिका ५ तीनपिप्ले निवासी खिला शर्मा अधिकारीले बिपी स्मृति भवन (नेपाली कांग्रेस राइनास नगर कार्य समितिको भवन निर्माण)का लागि ६ आना जग्गा निःशुल्क दिने घोषणा गर्नुभएको छ । सोही अवसरमा उहाँलाई सम्मानित समेत गरिएको छ ।

    सम्मेलनकै अवसरमा नेपाली कांग्रेस राइनासका वडा सभापति, निर्वाचित जनप्रतिनिधिका साथै पार्टी निकट विभिन्न संगठनका प्रमुख, प्रतिनिधिहरुले आ–आफ्ना धारणा राखेका थिए ।


    सहभागीहरुबाट आएका जिज्ञासाहरुको सम्बोधन राइनास नगर सम्मेलनमा प्रतिनिधिका रुपमा खटिनुभएका कांग्रेस नेता गमप्रसाद गुरुङले सम्बोधन गर्नुभएको थियो ।


    नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुको उलेख्य उपस्थिती रहेको नगर सम्मेलनको सहजीकरण नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य राजकुमार पाण्डे र नेपाली कांग्रेस राइनास नगर कार्य समितिका सचिव एवं राइनास नगरपालिका–६ का वडाअध्यक्ष गोविन्द चिलवालले गर्नुभएको हो ।

    प्रतिक्रिया दिनुहोस