२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

दक्षिण एसियाकै ठूलो सिद्धगुफाभित्र बन्दिपुर गाउँपालिकाको कार्यपालिका बैठक

  • २०८० आश्विन १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • तनहुँ–तनहुँको बन्दिपुर गाउँपालिकाले दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिका बैठक राखेको छ । विश्व पर्यटन दिवसका अवसरमा गाउँपालिकाले बन्दिपुर–४ को सिद्धगुफाभित्र कार्यपालिका बैठक गरेको हो ।

    सिद्धगुफाको प्रचारप्रसार र पर्यटन दिवसका अवसर पारेर गुफाभित्रै बैठक बसेर विभिन्न निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘आज पर्यटन दिवस रहेकाले कार्यालयमा भन्दा सिद्धगुफा बैठक बसेर पर्यटन प्रवद्र्धनका लागि गाउँपालिका सधैँ प्रतिबद्ध रहेको छ भन्ने सन्देश दिन खोजेका हौँ,’ उहाँले भन्नुभयो । बैठकले आउँदो माघ १९ गते सिद्धगुफा महोत्सव आयोजना गर्ने निर्णय पनि गरेको छ ।

    पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा रहेको सिद्धगुफा समुद्री सतहबाट छ सय मिटरमाथि विमलनगरको ठिक दक्षिण भागमा पर्दछ ।

    विसं २०४४ साल चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर सम्लिङ थापा मगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दिपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो ।

    पुरातत्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्रागकालीन मानवद्वारा निर्मित, धार्मिक एवम् ऐतिहासिक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी तीन हजार पाँच सय वर्ष पुरानो मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑