२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

सक्षम जनशक्तिलाई देशमै रोक्न सकेमा मात्रै मुलुक बन्छ : डा. टकराज गुरुङ

  • २०८० आश्विन १०, बुधबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले सक्षम नागरिकलाई विदेशिनबाट रोक्न सकेमा मात्रै मुलुकको विकास हुने बताउनुभएको छ ।

    ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा पर्यटन तथा उद्योग कार्यालय लमजुङको आयोजनामा आज बुधबार बेसीशहर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर गुरुङले यस्तो बताउनुभएको हो ।

    जीविकोपार्जनका साथै विभिन्न अवसरको खोजीमा गाउँघर छोडी शहर र विदेशिने क्रम बढेको बताउँदै देशमा उत्पादित दक्ष, सक्षम जनशक्ति र श्रमशक्तिलाई देशमै बस्ने वातावरण सिर्जना गर्न सकेमा मात्रै मुलुकको विकास हुने उहाँले बताउनुभएको हो ।

    ‘गाउँबाट शहर बसाइ सर्ने क्रम बढ्दो छ । देशमा रहेका दक्ष जनशक्ति, श्रमशक्ति विदेश पलायन भइरहेको छ । यसले मुलुकको विकास कदापी हुँदैन,’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका डाक्टर गुरुङले भन्नुभयो, ‘त्यसैले जनशक्तिलाई मुलुकभित्रै बस्ने वातावरण सिर्जना गर्नुपर्छ । राज्यले उचित आर्थिक नीति, कार्यक्रम, योजना बनाइ जनशक्तिलाई उपयुक्त ढंगले प्रयोग गर्न सक्नुपर्छ ।’

    विकासको सम्भावनाको खोजी गरी उपलब्ध श्रोत–साधनको उचित तवरले उपयोग गर्न सकेमा विकासले गति लिने पर्यटनविद्समेत रहनुभएका डाक्टर गुरुङले उल्लेख गर्नुभयो । जिल्लाको समग्र पर्यटन क्षेत्रको विकासमा आफु हातेमालो गर्न सदैव तयार नै रहेको उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    पर्यटन तथा उद्योग कार्यालय, लमजुङका प्रमुख मिताकुमारी थापाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमकै अवसरमा उहाँले समग्र लमजुङको पर्यटन क्षेत्रका विषयमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    बेसीशहर नगरपालिकाका योजना अधिकृत मेगेन्द्र पोख्रेलले स्वागत गर्नुभएको कार्यक्रममा बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङ, जिल्ला प्रशासन कार्यालय, लमजुङका प्रमुख प्रशासकीय अधिकृत जगदीश मिश्र लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।

    कार्यक्रममा आ–आफ्नो धारणा राख्दै सरोकारवालाहरुले लमजुङ पर्यटन विकासको उच्च सम्भावना बोकेको जिल्ला रहेकाले यसको विकासमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् ।

    कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख प्रतिनिधि, पर्यटन व्यवसायीका साथै सरोकारवालाहरुको उलेख्य उपस्थिती रहेको थियो ।

    प्रस्तुत कार्यपत्रमाथि नेपाल पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष कृष्ण केसीले टिप्पणी गर्नुभएको थियो । पर्यटन व्यवसायी रामकुमार श्रेष्ठले धन्यपाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन उपभोक्ता अधिकारीकर्मी एवं सञ्चारकर्मी किसान संगीत नेपालीले गर्नुभएको हो ।

    प्रतिक्रिया दिनुहोस