
लमजुङ-नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले गाउँ-ठाउँको विकास र जनताको हितमा समर्पित भएर काम गर्न आग्रह गर्नुभएको छ । लमजुङको दूधपोखरी गाउँपालिका जोर्नेमा आयोजित नेपाली कांग्रेस दूधपोखरी गाउँ कार्य समितिको प्रथम सम्मेलनलाई शुक्रबार सम्बोधन गर्नुहुँदै डाक्टर गुरुङले यस्तो बताउनुभएको हो ।
गाउँ-ठाउँकोे आवश्यकतालाई उच्च प्राथमिकतामा राखी आपसी सहकार्य र समन्वयमा विकास निर्माण र जनताको हितमा सदैव जुट्न उहाँले कांग्रेसबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई आग्रह गर्नुभएको हो । ‘निर्वाचनका बेला जनतामा सामु गरेका वाचा नभुली गाउँठाउँको विकास र जनताको हितमा जुट्नुपर्छ । जनताकोे मन जित्ने गरी काम गर्नुपर्छ । यस अभियानमा तपाइ हामी सबै जुट्नुपर्छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका डाक्टर गुरुङले नेपाली कांग्रेस छुट्टै इतिहास बोकेको पार्टी रहेको बताउँदै फुटेर नभइ आपसमा जुटेर अघि बढ्न कांग्रेस नेता तथा कार्यकर्तालाई आव्हन गर्नुभयो । ‘कांग्रेस एउटा छुट्टै गौरवपूर्ण इतिहासि बोकेको पार्टी हो । हामी आपसमा फुटेर नभइ जुटेर अघि बढ्नुपर्छ । कांग्रेसलाई थप मजबुत बनाउने यस अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ता सबै एक हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस दूधपोखरी गाउँ कार्य समितिका उप–सभापति धर्मदत्त न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका संगठन विभाग प्रमुख हरि बराल, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य एवं दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष छुपीमाया गुरुङ नेपाली कांग्रेस लमजुङका सचिव बिमल श्रेष्ठ, दूधपोेखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङ, नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि खुशीमाया गुरुङ (अस्मिता), नेवि संघ पूर्व केन्द्रीय कोषाध्यक्ष शिव रिमाल, नेपाली कांग्रेस राइनास नगर कार्य समितिका सभापति श्रीकृष्ण पौडेल, नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका सभापति प्रकाश सेढाइँ, नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सदस्य राजकुमार पाण्डे, कमल धिताल, रश्मी गुरुङ रामहरि न्यौपाने, सुरज गुरुङ लगायत कांग्रेसका नेता तथा कार्यकर्ताको उलेख्य उपस्थिती रहेकोे थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस दूधपोखरी गाउँ कार्य समितिका सचिव बेलबहादुर गुरुङले गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस