
लमजुङ–लमजुङको बेसीशहर नगरपालिका–२ बोहोराबेसीमा आदर्श महिला तथा बाल विकास केन्द्रको भवन निर्माण शिलान्यास गरिएको छ । नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङको प्रमुख आतिथ्यतामा शुक्रबार केन्द्रको भवन निर्माण शिलान्यास गरिएको हो ।
बालगृहको भवन शिलान्यास गर्दै डाक्टर गुरुङले आदर्श महिला तथा बाल विकास केन्द्रले स्थापनाकालदेखी नै महिलाहरुको सशक्तिकरणका साथै अभिभावकविहिन बालबालिकाहरुको सहारा बन्दै आएको उल्लेख गर्नुभयो । यस आदर्श बालगृहले असहाय बालबालिकाहरुलाई आश्रय, पालनपोषण, शिक्षादीक्षा दिनुका साथै उनीहरुकोे भविष्य उज्वल पार्न खेलेको भूमिका अतुलनीय रहेको उहाँले बताउनुभयो ।
बालगृहको भवन निर्माण समयमै सम्पन्न गर्न सम्वद्ध सबै पक्ष जुट्नुपर्ने बताउँदै उहाँले यस अभियानका साथै बालगृहका हरेक गतिविधिमा प्रदेश सरकार र आफ्नो तर्फबाट सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि जिल्ला अदालत लमजुङका न्यायधीस शिवप्रसाद खनालले यस संस्थाको भवन निर्माण अभियानलाई पूर्णता दिन लमजुङस्थित सबै राजनीतिक दल, समाजसेवीहरु जुट्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम आदर्श महिला तथा बाल विकास केन्द्रकी अध्यक्ष सानुमाया गुरुङको अध्यक्षतामा भएको हो। बालगृहको भवन शिलान्यास भएकोमा खुशी व्यक्त गर्दै भवन निर्माण कार्यमा सबैको साथ सहयोग मिल्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रका आजीवन सदस्य एवं पूर्व उपाध्यक्ष दीपक बरालले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेसका नेता गमप्रसाद गुरुङ, नेकपा माओवादी केन्द्रका प्रतिनिधि वीरबहादुर बोहोरा, केन्द्रका उपाध्यक्ष नारायण घिमिरे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस लमजुङका उप-सभापति आनन्द घिमिरे, आरसीडिसीका अध्यक्ष राजेन्द्र बोहोरा लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रका सदस्य रेनुका बोहोराले गर्नुभएको हो ।
समाजका सचिव हुमा गुरुङका अनुसार केन्द्रको स्थापना २०४६ सालमा भएको हो । बालगृह भने २०६० साल मंसिर १ गतेबाट सञ्चालनमा आएको हो । हाल यस बालगहृमा ११ जना बालबालिका रहेका छन् ।
केन्द्रको भवन आफ्नै स्वामित्वमा रहेको २१ आना बढि जग्गामा निर्माण हुनेछ । भवन निर्माणको लागत २ करोड रुपैयाँ रहेको उहाँले बताउनुभयो । भवन निर्माण भएसंगै सेवाप्रवाहमा सहज हुने आदर्श महिला तथा बाल विकास केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस