लमजुङ-विगत केही वर्ष अघि जनैपूर्णिमा आउनु एक महिना अगावै ब्राह्मण, क्षेत्रीका घरमा जनै कात्ने चटारो हुन्थ्यो । तर पछिल्लो समय कतुवा जनै बनाउने परम्परा गाउँघरबाटै हराउँदै जान थालेको छ ।
पछिल्लो समय क्षेत्री, बाहुनले नै कतुवा जनै बनाउन, लगाउन छाडेको पुराना पुस्ता बताउँछन् । ‘पहिले पहिले जनैपूर्णिमा आउनु एक महिना अगावै क्षेत्री, ब्राह्मणहरुका घरमा जनै कात्ने चटारो हुन्थ्यो,’ लमजुङ सुन्दरबजार नगरपालिका–७, पाउँदीका चन्द्रप्रकाश पोखरेलले भन्नुभयो, ‘अहिले त्यो परम्परा हराउँदै गएको छ । क्षेत्री बाहुनले नै कतुवा जनै बनाउन, लगाउन छाडे ।’ उहाँले वर्षेनी जनैपूर्णिमाका लागि घरमै कतुवा जनै बनाउँदै आउनुभएको छ ।
उहाँले बताएअनुसार जनैको धागो कात्ने कतुवा काठ, ढुंगावाट बनाउन सकिन्छ । ढुंगा अथवा काठको सानो चक्कालाई बिचमा छेडी त्यसमा बाँसको सानो सरो राखिन्छ । त्यसैमा काँचो धागोलाई तेब्बर कातिन्छ । बल्ल कतुवा जनै बन्छ ।
उहाँले अघि थप्नुभयो, ‘जत्ति कतुवाको सरो लामो भयो, उत्ति नै धागो लामो धागो कात्न सकिन्छ ।’ पछिल्ला पुस्ताका मान्छेलाई कतुवा भन्ने नौलो लाग्ने उहाँको आफ्नै तर्क छ । ‘परम्परा जोगाउन भएपनि यो काम गरिरहेको छु,’ उहाँले भन्नुभयो ।
अहिले बजारमा सजिलै जनै किन्न पाईन्छ । तर त्यसको तुलनामा घरमै कतुवामा कातिएको जनै बलियो हुनुका साथै धार्मिक हिसाबले शुद्ध पनि मानिन्छ ।
‘बजारमा अहिले ‘डुप्लिकेट’ जनै आउँछन् । बजारको जनै भन्दा त कतुवामा बुनेको जनै बलियो र शुद्ध हुन्छ । यसरी जनै बनाउँदा धार्मिक विधी पनि पुग्छ,’ चन्द्रप्रकाशले भन्नुभयो ।
पाको पुस्ताका अनुसार विशेषगरी ब्राह्मण, क्षेत्री समुदायका लागि जनैपूर्णिमा पर्वले खास महत्व राख्ने गर्दछ । पछिल्ला समय मौलिक कला, परम्परा सँस्कृति हराउँदै गएकोमा उनीहरु चिन्ता व्यक्त गर्छन् ।
मौलिक धर्म, संस्कृतिलाई जोगाउनु आवश्यक रहेकामा सरोकारवालाहरुको जोड छ ।

एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस