२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

वरपीपलको माझैमा धार्मिक एवम् ऐतिहासिक महत्वको लक्ष्मीनारायण मन्दिर ! (फोटो–फिचर)

  • २०८० श्रावण ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • हरियाली जंगलले घेरिएको । विभिन्न चराचुरुङ्गीको मधुर चिरबिरचिरबिर आवाज । शीतल पवन । त्यही पवन सँगसँगै ‘बयली’ खेल्दै टहलिन पाउँदा को पो खुशी नहोला र ? शान्त अनि मनोरम प्राकृतिक वातावरणमा रहेको धार्मिक एवम् ऐतिहासिक महत्वको लक्ष्मीनारायण मन्दिरको दर्शन गर्न पाउँदा जोकोहीले ‘स्वर्गकै अनुभूति’ गर्छन् ।
    सिउँडीबार–खत्रीठाँटी सडकखण्डको आडैमा पर्छ, लमजुङको सुन्दरबजार नगरपालिका–६, मा रहेको लक्ष्मीनारायण मन्दिर । सिँढी बिच्छ्याइएको उकालो बाटो हिँडेपछि केही मिनेटमै वरपीपलको माझमा रहेको ऐतिहासिक लक्ष्मीनारायण मन्दिर आइपुगिहाल्छ । थोरै उकालो बाटो चढ्दै गर्दा दायाँबायाँ विभिन्न देउताका मूर्ति र मन्दिर पनि देख्न सकिन्छ । यहाँ नागको थान, हनुमानको मूर्ति समेत देख्न सकिन्छ ।


    मनोकांक्षा पुरा हुने विश्वास
    प्रत्येक साँझ–बिहान यस मन्दिरमा स्थानीयले पूजा–आजा गर्छन् । निकै पुरानो मानिने यस मन्दिरमा पूजा–आजा गर्दा घरपरिवारमा सुख–शान्ति छाउने, मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको बताउनुहुन्छ, मन्दिरका पुजारी दिनेश अधिकारी ।
    ‘यो निकै पुरानो मन्दिर हो । यहाँ पूजा गरेमा सुख–शान्ति छाउने, मनले चिताएको पुग्ने विश्वास रहेको छ’, उहाँले भन्नुभयो ।
    मन्दिरको ५२ रोपनी जग्गा रहेको छ । मन्दिर परिसरमैै पिकनिक स्थल, बाल उद्यानका साथै विभिन्न खेल मैदान बनाईएको छ । मन्दिर परिसरमै ठाडोभाका शिरोमणि स्व. भेँडीखर्के साहिँलाको शालिक समेत छ । अहिले मन्दिर प्रांगणमा ट्रष्ट र मन्दिर समेत बनाइएको छ ।
    प्रकृतिमा हराउन खोज्नेका लागि राम्रो गन्तव्य
    अहिले प्राकृतिक सुन्दरतामा लट्ठिन चाहने, साथीभाइसँग भेटघाट गर्ने, पिकनिक खान चाहनेहरुको राम्रो गन्तव्य बनेको छ, लक्ष्मीनारायण मन्दिर ।
    पिकनिकका लागि आवश्यक पुर्वाधार पनि खडा गरिएको छ । पानी बिजुलीको राम्रो प्रबन्ध गरिएको छ । यस मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।
    धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना बोकेको लक्ष्मीनारायण मन्दिरको संरक्षण-संवद्र्धन र प्रवद्र्धनका लागि विभिन्न निकायसँग निरन्तर पहल भैरहेको लक्ष्मीनारायण मन्दिर संरक्षण विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीले बताउनुभयो ।
    उहाँका अनुसार मन्दिरमा विभिन्न भौतिक संरचना निर्माण भइरहेको छ । तर योे अझै पर्याप्त हुन नसकेको उहाँको भनाइ छ । अहिले पनि ६५ घरधुरीबाट प्रति घरधुरी मासिक पचास रुपैयाँ संकलन गरी मन्दिर सञ्चालन हुँदै आएको छ ।
    ‘यो ऐतिहासिक महत्वको धार्मिक मन्दिर हो । सम्बन्धित निकायले यसको महत्व बुझेर मन्दिरको प्रवद्र्धनमा थप सहयोग पुर्याएमा यसलाई यो क्षेत्रकै धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।
    धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने सम्भावना
    नगरपालिकाको समृद्धि र पहिचानका लागि नगरभित्र रहेको धार्मिक एवम् ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षणमा नगरपालिकाले काम गरिरहेको सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
    ‘सुन्दरबजार नगरपालिका भित्र ऐतिहासिक एवम् धार्मिक महत्वका थुप्रै सम्पदाहरु छन् । ती सम्पदाहरुको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न नगरपालिका जुटिरहेको छ,’ उहाँले भन्नुभयो ।
    उहाँका अनुसार नगरक्षेत्रमा धार्मिक पर्यटन, साँस्कृतिक पर्यटनको विकास गरी युवालाई स्वरोजगार बनाउन सकिने सम्भावना छ । ‘त्यसैले हामी यस क्षेत्रको विकासमा अवश्य जुट्छौँ’, उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    आवश्यक विभिन्न संरचना बनाई उचित प्रचार–प्रसार हुन सके लक्ष्मीनारायण मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना छ । त्यसैले पनि यस मन्दिरको संरक्षण–संवद्र्धनमा स्थानीयसंगै स्थानीय सरकारले दिल खोलेर सहयोग गर्नु आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् ।

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस


    ↑