२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

लमजुङ ऐशेलुचौरका रेशमबहादुर मगर व्यवसायिक बाख्रापालनमा : भन्नुहुन्छ, ‘पालेमा बाख्रा–पाठो, पर्दैन हिँड्न लामो बाटो’

  • २०८० श्रावण २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • लमजुङ–घरगाउँमा सिकर्मी र डकर्मी काममा कहलिएका व्यक्ति हुनुहुन्छ, लमजुङ सुन्दरबजार नगरपालिका–६ ऐशेलुचौरका रेशमबहादुर मगर । जीवनको लामो समय ‘हातमा भएको सीप र मनमा भएको ऊर्जा’ सिकर्मी र डकर्मी काममै खर्चनुभयो, उहाँले । घरगाउँमा कामका लागि रोजाइँमा पर्ने भएकाले पनि उहाँलाई काम र दामको कुनै कमी थिएन । भएन, उहाँलाई ।
    ज्याला मजदूरीबाटै उहाँको गर्जो सजिलै टरेको थियो । तर बिस्तारै घरगाउँमा काठपात र ढुंगामाटोको काम कम हुन थाल्यो । काम नपाएपछि कमाइ भएन । जीवन चलाउन सकसै भयो ।
    पछिल्लो समय घरगाउँमा पनि पक्की घर बन्न थालेसंगै कामका लागि आफुहरुको माग हुन छाडेको उहाँको अनुभव छ ।
    ‘अहिले गाउँमै इट्टा, सिमेन्टका घर बन्न थाले । काठपातको कामका साथै ढुंगा माटोको गारो लगाउने काम हुनै छाड्यो । घर बनाउने काममा पनि अन्यत्रबाट कम ज्यालामै काम गर्न मजदूरहरु आउन थाले । हामीहरुको माग हुनै छाड्योे । काम पाउनै गाह्रो भो,’ उहाँले भन्नुभयो ।
    मजदूरी छोडी उद्यम
    ढल्कँदो उमेर । तर परिवारप्रतिको जिम्मेवारी बढ्दो थियो । काम र कमाइ नभएपछि परिवारको गुजारा चलाउन उहाँले घर–गाउँमै आफ्नै केही उद्यम गर्ने योजना बनाउनुभयो ।


    विगतमा घरगाउँमै निर्वाहमुखी ढंगले पाल्दै आएको बाख्रापालनलाई व्यवसायिक रुपमा हाँक्ने सोच बनाउनुभयो । लगत्तै, उहाँ व्यवसायिक बाख्रापालनमा होमिनुभयो । पाँच वटा स्थानीय खरीको जातको बाख्राबाट उहाँले बाख्रापालन व्यवसाय सुरु गर्नुभयो । चार वर्षअघि ‘अञ्जन बाख्रा तथा बंगुर फार्म’ दर्ता गरी उहाँले बाख्रापालन व्यवसाय अघि बढाउनुभएको हो । हाल उहाँको फार्ममा २० वटा माउ बाख्रा, पाँच वटा बोका र पाँच वटा पठ्याङ्ग्री पालिएका छन् । बीचकोे केही समयमा उहाँको फार्ममा ७० वटासम्म बाख्रा पालिएका थिए ।
    ‘काम पनि पाइन छाड्योे । उमेर घर्किदैँ गयो । स्वास्थ्यमा पनि समस्या हुँदै गएपछि काठपात, ढुंगामाटोको काम गर्न गाह्रो भयो । त्यसैले बाख्रापालनमा लागेँ,’ उहाँले भन्नुभयो ।
    कमाइ राम्रो : घरखर्च चलाउन सजिलो
    बाख्रापालन व्यवसाय उहाँलाई फापेको छ । यसै व्यवसायबाट राम्रो कमाइ भएको छ । घरखर्च चलाउन सजिलो भएको छ । ‘पहिले पनि राम्रै कमाइ हुन्थ्यो । अहिले तुलनात्मक रुपमा दुःख कम छ । कमाइ राम्रै छ । चुल्हो बाल्न सजिलै भएको छ,’ रेशमले भन्नुभयो ।
    फार्ममा उत्पादित खसीबोका, पाठापाठी घरबाटै बिक्री हुने गरेको छ । उत्पादन स्थानीय सुन्दरबजारमै खपत हुने गरेको छ । विशेषगरी : बाख्रापालनका लागि पाठापाठीकोे माग हुँदै आएको छ । ‘खसीबोका, पाठापाठी खरीदका लागि ‘गाहकी’ (ग्राहक) घरमै आउँछन् । बजारको कुनै समस्या छैन,’ उहाँले भन्नुभयो ।
    उहाँले खसीबोका प्रतिकेजी ६ सय रुपैयाँ, पठ्याङ्ग्री प्रतिकेजी चार सय रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ । फार्ममा वार्षिक ३ लाख हाराहारीमा आर्थिक कारोबार हुँदै आएको छ ।
    ‘खसीबोका, पाठापाठी बिक्री भइरहेको हुन्छ, फार्मबाटै । कमाइ राम्रै छ,’ बाख्रा चराउनका लागि डाठीखोरी भीरमा जाँदै गर्दा बाटैमा भेटिनुभएका रेशमले भन्नुभयो, ‘महिनाको २५÷३० हजार रुपैयाँ कहिँ जादैँन । बाख्राको आहारामा पनि पैसा खर्च हुन्छ ।’
    ‘विदेश नजाउँ, श्रम–पसिना देशकै माटोमा बगाउँ’
    घरमै बाख्रपालनमा रम्नुभएका रेशमको दिनचर्या बाख्राकै कुँडोपानी, घाँसपात र हेरचाहमा बित्ने गर्छ । यसमा उहाँलाई श्रीमति देवी मगर र दुई छोरा मनोज मगर र अञ्जन मगरले पनि सघाउनुहुन्छ ।
    परिवारको साथमा बसेर कृषि उद्यम गर्न पाउँदा उहाँ खुशी हुनुहुन्छ । यस व्यवसायलाई थप विस्तार गर्दै लैजाउने उहाँको लक्ष्य छ ।
    ‘लोकल खरी’ जातको बाख्राका लागि यहाँको हावापानी उपयुक्त रहनुका साथै झरीमा समेत चर्न सक्ने भएकाले पनि लोकल खरी जातको बाख्राको संख्या बढाउँदै लैजाने उहाँको भनाइ छ ।
    ‘आजससम्म राज्यबाट सहयोग पाएको छैन । राज्यबाट साथ, सहयोग मिलेमा यस व्यवसायलाई विस्तार गर्ने, लोकल खरी जातकै बाख्राको संख्या थप्दै लैजाने सोँच छ,’ उहाँले भन्नुभयो ।


    चरनको व्यवस्था, घाँसपातको उचित व्यवस्थापन, व्यवस्थित खोरका साथै उन्नत जातका बाख्रा पाल्न सकेमा घरगाउँमै बसीबसी बाख्रा पालेरै सजिलै जीवन धान्न सकिने सम्भावना सुनाउनुहुन्छ, उहाँ ।
    ‘कि लामो बाटो कि बाख्रा पाठो’ बुढापाकाको उखान स्मरण गर्दै बाख्रापालक किसान रेशमबहादुर मगर विदेशिएका र विदेशिन खोज्ने युवा जमातलाई भन्नुहुन्छ, ‘सकेसम्म विदेश नजाउँ । श्रम–पसिना देशकै माटोमा बगाउँ । पालेमा बाख्रा पाठो, पर्दैन हिँड्न लामो बाटो ।’

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस