२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

भोलि र पर्सि गण्डकीदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • २०८२ माघ ८, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • भोलि र पर्सि गण्डकी प्रदेशदेखि पश्चिमसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार मुख्यतः सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसोपछि मध्यम वर्षा हुने सम्भावना छ ।

    यस्तै कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा हुनुका साथै हिमपातको पनि सम्भावना रहेको मौसमविद् ढकालले बताउनुभयो । बागमती प्रदेशका एक–दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना भए पनि ठूलो पानी भने नपर्ने महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा भने वर्षाको खासै सम्भावना छैन । यद्यपि, पश्चिमी क्षेत्रमा हुने वर्षाका कारण वायु प्रदूषण र तराई क्षेत्रमा लामो समयदेखि लागेको हुस्सुबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

    महाशाखाका अनुसार वर्षापछि तापक्रम पनि क्रमिक रूपमा बढ्दै जाने अनुमान छ । पर्सि शनिबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस