२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

शुक्रवारदेखि वर्षासहित चिसो बढ्ने मौसमविद्को अनुमान : चिसोबाट जोगिन सुझाव

  • २०८२ माघ ७, बुधबार मा प्रकाशित ७ महिना अघि
  • मौसमविद्हरूले पर्सि शुक्रवारदेखि वर्षासहित चिसो बढ्न सक्ने सम्भावना रहेको बताएका छन् ।

    त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना धेरै छ ।

    मौसमविद् उज्ज्वल उपाध्यायले पनि सामाजिक सञ्जालमा लेख्दै अहिले भूमध्य सागरमा भइरहेको हलचलका कारण शुक्रवार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा वर्षा हुन सक्ने बताउनुभएको छ । उहाँका अनुसार वर्षा गराउने प्रणाली गण्डकीसम्म आइपुग्ने छ भने बागमतीमा सामान्य प्रभाव रहनेछ । वर्षा र हिमपातले विपद्को सम्भावना नरहे पनि चिसोबाट जोगिन उहाँको सुझाव छ ।

    यस्तै जलवायु विपद् विज्ञ डा। धर्मराज उप्रेतीले सामाजिक सञ्जालमा लेख्दै शुक्रवारदेखि आइतवारसम्म पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, लुम्बिनी, कर्णाली हुँदै पूर्वी भागसम्म पनि हिउँदे वर्षा र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार तराईमा वर्षाको सम्भावना छैन तर प्रणालीको बादलका कारण हुस्सु हटाउने छ ।

    मौसम पूर्वानुमान महाशाखाले निकालेको तीन दिनको मौसम पूर्वानुमानमा पनि शुक्रवार दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

    यसपालि हिउँदमा अझै पानी पर्न सकेको छैन । वर्षा गराउने प्रणाली आए पनि मध्य र पूर्वी नेपालमा भने खासै धेरै वर्षाको सम्भावना छैन । शुक्रवारदेखि केही दिन चिसो बढ्ने तर त्यसपछि घाम लागेर न्याना दिन आउने मौसमविद्को भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस