२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

आदिवासी जनजाति अपाङगता भएका व्यक्तिहरुको आवाज मिडियामा आउन जरुरी : प्रतिमा गुरुङ

  • २०८२ पौष २०, आईतबार मा प्रकाशित ७ महिना अघि
  • काठमाडौँ–आदिवासी जनजाति अपाङग महिला संघ–नेपालका अध्यक्ष प्रतिमा गुरुङले आदिवासी जनजातिको सञ्चारमा पहुँच र समावेशीकरणमा आदिवासी अपाङगता भएका व्यक्तिहरुको आवाजहरुलाई मिडियामा प्रमुख स्थान दिनुपर्ने बताउनुभएको छ । तीन दिनसम्म काठमाडौंमा सञ्चालित कार्यशाला गोष्ठिमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    कार्यशाला गोष्ठिमा बोल्दै अध्यक्ष गुरुङले आदिवासी जनजाति अपाङगता भएका व्यक्ति र सीमान्तकृत समूहका आवाजहरु मिडियाको मूलधारमा किन आउन सकेको छैन ? भनेर सहभागी पत्रकाहरुमाझ प्रश्न समेत गर्नुभएको थियो ।

    त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहनु भएकी गुरुङले नेपालको आदिवासी जनजाति महिलाको आवाज, सञ्चार प्रभावकारी बनाउन र संयुक्त राष्ट्र संघको युएनड्रीपलाई नेपालमा कार्यान्वयन गर्न सहयोग पुर्याउने बताउँदै अपाङगता भएकाहरुमध्ये पनि आदिवासी अपाङगताको मुद्धाहरु पहिचान खुल्नेगरी मिडियामा आउनुपर्नेमा जोड दिनुभयो ।

    यसैगरी, ‘हामीले नगरे, कसले गर्ने ? हाम्रो इतिहास हामीले नलेखे, सले लेख्ने ? श्रभन्ने मूल मर्मसहित आवाजविहिनहरुको आवाजलाई मिडियाको मूलधारमा समेटिनुपर्नेमा कार्यक्रमका अन्य सहभागीहरुले जोड दिएका छन् ।

    राष्ट्रिय आदिबासी जनजाति अपाङग महिला संघ–नेपाल (निडवान)को आयोजनामा भएको ३ दिने कार्यशाला गोष्ठीमा पहिचान गर्न वेवास्ता गरिएका आवाजहरु भन्ने मूल नाराका साथ आदिवासी जनजाति, अपाङगता भएका व्यक्ति र सीमान्तकृत समूहको आवाजलाई मिडियामा मूलप्रवाहीकरण गरिनु पर्नेमा व्यापक छलफल भएको थियो ।

    इण्डिजिनियस टेलिभिजनका सम्पादक तथा वरिष्ठ पत्रकार कुमार यात्रुले मिडियामा भएको उपनिवेशीकरणलाई औपनिवेशीकरणबाट मुक्त हुन आदिवासी जनजाति पत्रकाहरु सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । वरिष्ठ पत्रकार यात्रुले कार्यशाला गोष्ठिमा कार्यपत्र प्रस्तुत गर्दै उपविनिशीकरणबाट मुक्त हुनु पर्नेमा जोड दिर्दै यूएन ड्रीपको धारा १६ मा आदिबासी जनजातिको सञ्चारमा पहुँचको कुरा कसरी सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण रहेको बताउनुभयो ।

    मूलधारका सञ्चारमाध्यममा आदिबासी तथा अपाङता, महिला, मधेशी, दलित लगायतका विषयलाई अहिले पनि ओझेलमा पारेको बताउँदै यस्ता विषयमा स्वयम आदिवासी जनजातिका पत्रकारहरुले खोज गर्दै आफ्ना मुद्धाहरु उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यशाला गोष्ठिका अर्का वक्ता कृष्ण गहतराजले अपाङगता भएका व्यक्तिहरुको पहिचान एकै प्रकारको नभएकाले विश्लेषण गरेर मात्र लेख्नु पर्ने बताउनुभयो ।

    विश्व स्वास्थ्य संगठनको कार्यविधि, साझा अवधारणा मूल मर्मलाई टेकेर काम गर्नु पर्ने बताउँदै मिडिया पहिचानको महत्वपूर्ण माध्यम भएको हुँदा त्यसभित्रका पहुँच र विविधताका गहिराई खोज्नु पर्नेमा जोड दिनुभयो ।

    कार्यशाला गोष्ठिमा लेखक जेवी विश्वकर्माले दलित र सीमान्तकृत समूहको आवाज र मिडियामा प्रतिनिधित्व विषयमा बोल्दै मूलधारका मिडियाहरुले अहिले पनि आवाजविहिनहरुको आवाजलाई समेट्न नसकेको बताउनुभयो ।

    देशमा आर्मूल परिवर्तन भएपनि राज्यदेखि पछि परेका सीमामन्तकृत समुदाय, महिला, दलित तथा उत्पीडित परेका व्यक्तिहरुको आवाजलाई मूलधारका मिडियाले वेवास्ता गरेको बताउँदै यस यस्ता विषयमा स्वयम पछाडि परेका समुदायहरु नै लाग्नु पर्ने उल्लेख गर्नुभयो ।

    मूलधारका मिडियाले शक्तिसँग केन्द्रीत र राजनीतिक विषयलाई बढी महत्व दिने र दलित, सीमान्तकृत समुदाय तथा आदिबासी अपाङगताका सवाललाई पहिचान नगरेको बताउनुभयो ।

    कार्यशाला गोष्ठिमा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेले पछिल्लो पटक मिडियाका धेरै समाचार स्रोतहरु आचार संहिताभन्दा बाहिर गएर सम्प्रेषण गरेको बताउनुभयो ।

    मिडिया हावसहरुमा अहिले पनि महिला, सीमान्तकृत सहभागीताका सवालहरुमा सर्वेक्षण गर्दा महिला सम्पादक र आदिवासी सम्पादकहरु औंलामा गन्न सकिने र अल्पसंख्यक व्यक्तिहरुको समाचार नै सञ्चारमाध्यममा आउन नसक्नुको कारण पितृसत्तात्मक सोंचको कारण भएको स्पष्ट पाउनु भयो ।

    त्यसैगरी उक्त कार्यशाला गोष्ठिमा क्रियाशील पत्रकार महिलाका अध्यक्ष तथा अन्नपूर्ण पोष्टका डेष्क सम्पादक रामकला खड्काले नेपालको सिमान्तकृत समूदायको आवाजहरु आउने कुरा अझै शंकाको घेरामै सीतिम रहेको बताउनुभयो ।

    उक्त कार्यशाला गोष्ठिमा आदिवासी जनजाति पत्रकार संघका प्रथम अध्यक्ष खिम घले, आदिवासी जनजाति पत्रकार संघका पूर्व अध्यक्ष डण्ड गुरुङ, इण्डिजिनियस मिडिया फाउण्डेशनका अध्यक्ष देवकुमार सुनुवारले आदिबासी जनजाति अपाङगता भएका व्यक्ति र सीमान्तकृत समूहका आवाजहरु मिडियाको मूलधारमा आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै आदिबासी जनजाति पत्रकारहरु सक्रिय भएर लाग्नु पर्ने साथै आदिबासीहरुले सञ्चारमाध्यम र सञ्चारकर्मीहरुका लागि स्रोत–साधनको व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो ।

    कार्यशाला गोष्ठिमा विभिन्न सञ्चारमाध्यमबाट सञ्चारकर्मीहरु सहभागीता रहेको थियो । उक्त कार्यशाला गोष्ठि इण्डिजियस टेलिभिजन नेपालको सहयोग र अल्पसंख्याक अधिकार समूहहरुको संस्था (माइनोरीटी राइट्स् गु्रप्स्को आर्थिक सहयोगमा संचालन भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस