
लमजुङ–गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाएका छन् । ‘ल्हो’ को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
तमु ल्होसारलाई गुरुङ समुदायले भव्य रूपमा मनाउँदै आएका छन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
विशेषगरी : गुरुङ समुदाय रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो ।
यसैगरी, गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा लमजुङ काँग्रेस सभापति डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा लमजुङ कृषि खेल मैदानमा पनि आज संयुक्त तमु ल्होछार–२०८२ कार्यक्रम सम्पन्न गरिएको छ ।

ल्होछारको अवसरमा उहाँले लमजुङ, गण्डकी प्रदेशसहित घरदेश/परदेशमा रहनुभएका सम्पूर्ण नेपाली बा–आमा, दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख–शान्ति, उन्नति–प्रगति र समुन्नतिको शुभकामना व्यक्त गर्नुभएको छ । साथै उहाँले मौलिक चाडपर्व संस्कार, संस्कृति संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको पनि विशेष उपस्थिति रहेको थियो ।
तमु ह्युँला छोंज धि गुरुङ राष्ट्रिय परिषद् सुन्दरबजार नगर कार्य समिति, लमजुङको आयोजनामा एंव संकल्प तमु समाज, सुन्दरबजार–७, लमजुङको सहभागितामा कार्यक्रम भएको हो ।

यसपछि तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभूषामा सजिएर सहभागी हुन्छन् ।
प्रतिक्रिया दिनुहोस