
लमजुङ–गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा लमजुङ कांग्रेस सभापति डा. टकराज गुरुङज्यूले मौलिक कला, धर्म, परम्परा, संस्कृति र पहिचान जोगाउन जरुरी रहेको बताउनुभएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका–७, स्थित लमजुङ कृषि क्याम्पसको खेल मैदानमा मंसिर २३ गतेसम्म संचालन हुने महोत्सवको आज समुद्घाटन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

पछिल्लो समय पश्चिमा संस्कृतिको बढ्दो प्रभावका कारणले हाम्रा मौलिक कला, धर्म, परम्परा, संस्कृति र पहिचान हराउँदै गएको बताउँदै उहाँले यी पक्षलाई सबै मिलेर जोगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विभिन्न अवसरमा गाउँठाउँमा हुने मेला, पर्व, उत्सव, महोत्सवले स्थानीय कला, संस्कृति संरक्षणका साथै व्यापार, पर्यटन प्रबद्र्धनमा समेत टेवा पुर्याउने मन्त्री गुरुङले उल्लेख गर्नुभयो । साथै उहाँले महोत्सवको सफलताको कामना समेत गर्नुभएको छ ।
साङ्दो पल्री बौद्ध गुम्बा गुरुङ समाज सुन्दरबजारको आयोजनामा ‘स्थानीय कला, संस्कृति र धार्मिक सम्पदाको संरक्षण संबद्र्धन ः उद्योग, व्यापार र आन्तरिक पर्यटनको प्रबद्र्धन’ भन्ने नाराका साथ महोत्सव संचालन भएको हो ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगितीक प्रस्तुतीका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुती रहने छ । व्यवस्थित बौद्ध गुम्बा निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक केन्द्र बनाउने उद्धेश्यका साथ महोत्सव संचालन गरिएको महोत्सव मूल समारोह समितिका सचिव खेम गुरुङले बताउनुभयो ।
महोत्सव अवधीभर एक लाख पचास हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
प्रतिक्रिया दिनुहोस