२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

लमजुङको राइनासटार सिंचाइ आयोजना स्तरोन्नती हुँदै : दश करोड रुपैयाँ विनियोजन

  • २०८२ मंसिर ११, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • लमजुङ-लमजुङको राइनास नगरपालिकामा रहेको राइनासटार सिंचाइ आयोजना स्तरोन्नति हुने भएको छ ।

    गण्डकी प्रदेश सरकारको विशेष पहलमा संघ सरकारद्वारा विशेष अनुदानअन्तर्गत लमजुङको राइनासटार सिंचाइ आयोजना (राइनास नगरपालिका वडा नं १–७) स्तरोन्नतिका लागि १० करोड रुपैयाँ विनियोजन भएको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एव प्रवक्ता तथा नेपाली काँग्रेस, जिल्ला कार्य समिति, लमजुङका सभापति डा टकराज गुरुङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सिंचाइ आयोजना स्तरोन्नतिका लागि आर्थिक वर्ष २०८२/०८३ मा ३ करोड ५० लाख रुपैयाँ, आर्थिक वर्ष २०८३/०८४ मा ३ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०८४/०८५ मा ३ करोड रुपैयाँ गरि दश करोड बजेट विनियोजन भएको हो ।

    राइनासटार सिंचाइ आयोजना स्तरोन्नतिका लागि टेण्डर भइसकेको र स्तरोन्नति कार्य यसै वर्षबाट सुरु गरि अबको तीन वर्ष भित्र सक्ने लक्ष्य लिइएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, लमजुङका प्रमुख विष्णुहरी अधिकारीले जानकारी दिनुभयो ।

    आयोजना स्तरोन्नति भएपश्चात सरल, सहज रुपमा नहर संचालन हुनुका साथै कृषि कर्ममा किसानलाई लाभ पुग्ने आर्थिक मामिला मन्त्री डा. गुरुङले बताउनुभयो ।

    ‘बजेट विनियोजन हुनुका साथै टेण्डर समेत भएको छ । आयोजना स्तरोन्नति भएसँगै निरन्तर र व्यवस्थित रुपमा सिंचाइ आयोजना सञ्चालन गर्नमा सघाउ पुग्नेछ । आम किसानका लागि कृषि कर्म र सिंचाईमा सहज हुनेछ,’ उहाँले भन्नुभयो ।

    राइनास क्षेत्रको कृषि उत्पादन वृद्धि र कृषकको जीवनस्तर उकास्न समेत यस आयोजनाले टेवा पु¥याउने उहाँले उल्लेख गर्नुभयो ।

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस