
लमजुङ-गण्डकी प्रदेश सरकार अन्तर्गत लमजुङका दुईवटा कार्यालयको एकिकृत सेवा सुरु भएको छ । प्रदेश सरकारले यसअघि दुई वटा कार्यालय एकिकृत गर्ने निर्णय गरेअनुसार जिल्लामा रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालयको एकिकृत सेवा शुरु भएको हो ।
दुवै कार्यालयको साविकको नाम परिवर्तन गरी गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, एकीकृत सेवा कार्यालय नामाकरण भएको छ । उक्त कार्यालयको सोमबार एक कार्यक्रमका विच गण्डकी प्रदेश सरकारकाका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा लमजुङ कांग्रेस सभापति डा. टकराज गुरुङले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. गुरुङले उपलव्ध सीमित श्रोत–साधनलाई नागरिकको सेवामा बढी भन्दा वढी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । संविधान र शासन व्यवस्थाका वारेमा उठेका गतल धारणाहरुलाई चिर्न पनि सेवा प्रवाहलाई थप प्रभावकारी र चुस्त दुरुस्त पार्नुपर्ने उहाँको भनाई छ ।
प्रविधिमार्फत सेवालाई प्रभावकारी बनाउने, प्रविधिमैत्री सेवालाई व्यवस्थित बनाउनुपर्ने उहाँको भनाइ छ । लमजुङका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले एकीकृत सेवाले राज्यको लागत पनि घट्ने र एकै ठाउँबाट सेवा पाउने हुँदा नागरिकलाई सहज हुने उल्लेख गर्नुभयो ।
यस्तै, जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले साविकमा दुई वटा कार्यालयबाट हुर्दै आएका सेवा प्रवाहलाई थप प्रभावकारी र चुस्तदुरुस्त बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा एकीकृत सेवा कार्यालय लमजुङकी प्रमुख मिता कुमारी थापाले कार्यालयलाई प्राप्त अधिकारी, कार्ययोजना र कर्मचारी दरबन्दी बारे जानकारी गराउनु भएको थियो । १० जना कर्मचारी दरवन्दी रहेकोमा हाल पाँच पद रिक्त रहेको कार्यालय प्रमुख थापाले बताउनुभयो ।
कार्यक्रमको सहजीकरण अल्पकालिन आश्रय केन्द्र प्रमुख र्सिजना पौडेलले गर्नुभएको हो । यसअघि गण्डकी प्रदेश मन्त्रीपरिषद्को बैठकले प्रदेश अन्तर्गतका सात निर्देशनालय खारेज र केहि निकाय एकिकरण गर्ने निर्णय गरेसँगै कार्यान्वयन गरेको हो ।
प्रतिक्रिया दिनुहोस