२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

प्रस्तावित ‘६१ मेघावाटको मस्र्याङ्दी–३ हाइड्रोपावर’का विषयमा प्रभावित क्षेत्रका स्थानीयबीच छलफल

  • २०८२ मंसिर ६, शनिबार मा प्रकाशित १0 महिना अघि
  • लमजुङ–मस्र्याङ्दी नदीमा प्रस्तावित ६१ मेघावाटको मिनि मस्र्याङ्दी हाइड्रोपावर (मस्र्याङ्दी–३)का विषयमा आज पाउँदीमा स्थानीय र सरोकारवालाबीच छलफल भएको छ ।

    लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ७ र ९, राइनास नगरपालिका वडा नं ६, ८ र भानु नगरपालिका वडा नं ९ र १० भएर बहने मस्र्याङ्दी नदीमा प्रस्तावित ६१ मेघावाटको मिनि मस्र्याङ्दी हाइड्रोपावर (मस्र्याङ्दी –३)का विषयमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रभावित क्षेत्रका स्थानीयबीच छलफल भएको हो ।

    सुन्दरबजार नगरपालिका वडा नं ७ का वडाअध्यक्ष जयराम रेग्मीको संयोजकत्वमा बसेको भेलाले प्रस्तावित मस्र्याङ्दी–३ हाइड्रोपावरकोे यथार्थ विवरण सुन्दरबजार नगरपालिका र राइनास नगरपालिका तबाट नेपाल विद्युत प्राधिकरण, विद्युत विकास बोर्डसंग बुझी मंसिर मसान्तभित्र स्थानीय जनतालाई जानकारी गराउने निर्णय भएको राइनासका अगुवा राजकुमार पाण्डेले जानकारी दिनुभयो ।

    यहाँ अत्यधिक मानव बस्तीका साथै अन्त्यष्ठी घाट, धार्मिक महत्वका स्थानहरु रहेका र जलविद्युत केन्द्र निर्माण हुँदा यहाँ पर्यावरणीय असर पर्नुका साथै जल पर्यटनको समाप्ति हुने भएकाले यस कार्यलाई रोक्नुपर्ने स्थानीय अगुवा राइनास हर्राबोटका कृष्णराज ओलियाले बताउनुभयो ।

    भेलामा सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइराला, राइनास नगरपालिकाका उप-प्रमुख पुष्पराज खनाल, राइनास नगरपालिका–६ का वडाअध्यक्ष गोविन्द चिलवाल लगायत सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका र तनहुँ भानु नगरपालिकाका स्थानीयको उपस्थिति रहेको थियो ।

    हाइड्रोेपावरका साथै कानुनी प्रकृया बुझेर नागरिकलाई जानकारी गराउने र नागरिकको चाहनाअनुसार नै आफुहरु अघि बढ्ने जनप्रतिनिधिहरुले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ↑