
गोरखा–गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने सडकखण्डमा मोटरेवल पुल बन्ने भएको छ । गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ जोड्ने लुदी खोलामाथि गण्डकी प्रदेश सरकारको लगानीमा पुल बन्न लागेको हो ।
पुलको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलन्यास गर्नुभएको छ । स्याउली बजार–भट्ट फाँट हुदै मनकामना जोड्ने सडकखण्डमा बन्न लागेको पुलको कूल लागत ७ करोड ५९ लाख ३० हजार रहने पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।
‘लागत अनुमान १० करोड ३१ लाख ६० हजार रहेको तर ७ करोड ५९ लाख ३० हजारमा ठेक्का सम्झौता भएको कार्यालय प्रमुख गणेश सुवेदीले बताउनुभयो ।
गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड बिल्डर्स प्रालिसँग ठेक्का सम्झौता भएको छ । दुई वर्षमा काम सक्ने गरी यही असार २२ गते सम्झौता भएको सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुलको कूल लम्बाई ६० मिटर र चौडाई ८.४० मिटर रहने छ । पुल बनेसँगै सो सडकखण्डमा बाह्रै महिना सवारी आवागमन सहज हुने अपेक्षा छ ।
विशेष गरी शहीद लखन गाउँपालिका र गोरखा नगरपालिकाका स्थानीय पुलबाट बढी लाभान्वित हुनेछन् । उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा पनि सहज हुने भन्दै स्थानीय खुशी छन् ।
पुल शिलन्यासपछि बोल्दै मुख्यमन्त्री पाण्डेले बजेटका कारण काम नरोकिने बताउनुभयो । मनकामना जोड्ने अन्य सडकखण्डमा पनि पुलको माग भएकाले क्रमशः बजेट विनियोजन हुदै जाने उहाँले बताउनुभयो । सीमित स्रोत–साधनका कारण एकै पटक सबै स्थानीयको माग पूरा गर्न सम्भव नहुने उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस