२०८३ जेष्ठ १७, आईतबार | Sun, 31, May, 2026

लमजुङको पाउँदीमा बाला चतुर्दशी मेला : झण्डै ८ हजारले छरे सतबीज (फोटो–फिचर)

  • २०८२ मंसिर ३, बुधबार मा प्रकाशित ६ महिना अघि
  • लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीस्थित मस्र्याङ्दी नदी आडैमा रहेको कर्मदा नदीका शिवजी मन्दिर परिसरमा बाला चतुर्दशी मेला लागेको छ ।

    आज मन्दिर परिसरमा बिहानैदेखि नदीमा स्नान गर्ने र सतबीज छर्न आउनेहरुको घुइँचो लागेको छ । यस मन्दिरमा प्रत्येक वर्ष ठूलो एकादशी र बाला चतुर्दशीको दिन ठूलो मेला लाग्ने गर्दछ । दर्शानार्थीहरुको घुइँचो लाग्छ । पाउँदी लमजुङको प्रवेशद्वार हो ।

    यसवर्ष बाला चतुर्दशी मेलामा झण्डै १० हजार भक्तजन आएका र तीमध्ये आठ हजार भक्तजनले सतबीज छरेका कर्मदा नदीका शिवजी मन्दिर संंरक्षण समिति पाउँदीका सह–सचिव सुदीपकान्त अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बर्सेनि यहाँसम्म आउने दर्शानार्थीहरुको संख्या बढ्दै गएको छ ।

    एकादशी मेला भर्नका साथै बाला चतुर्दशीका दिन सतबीज छर्न पाउँदीमा लमजुङसहित छिमेकी जिल्ला तनहुँ, गोरखा र कास्कीबाट समेत उलेख्य संख्यामा भक्तजनहरु आउने गरेका कर्मदा नदीका शिवजी मन्दिर संंरक्षण समिति पाउँदीका कार्यवहाक अध्यक्ष चन्द्रप्रसाद पोखरेलले बताउनुभयो ।

    बाला चतुर्दशीका दिन भोको पेट बसी बिहानै नदीमा स्नान गरी सतबीज छरे पितृले मोक्ष पाउने धार्मिक विश्वास रहेको मन्दिरका पुजारी विष्णुहरि गौलीले बताउनुभयो ।

    उहाँका अनुसार धान, मकै, गहुँ, जौलगायतका अन्न शतबीजका रुपमा नदी किनारमा रहेका मन्दिर, ढुंगा, पीपलको फेदमा छर्ने परम्परा रहेको छ।
    पाउँदीमा विभिन्न समयमा लाग्ने धार्मिक मेलामा स्थानीय स्तरमै उत्पादित घरेलु हस्तकलाका सामानका साथै कृषिजन्य वस्तु समेत बिक्रीका लागि ल्याउने गरिन्छ ।

    विगतमाझैँ यसवर्षको मेलामा पनि डोको, डालो, नाम्लो, भकारी, कोदालो लगायतका कृषि औजारका साथै सुन्तला, भट्टमास, बदाम, तरुल लगायतका कृषि उपज बिक्रीका लागि ल्याइएका थिए ।

    यस मेलाले घरेलु हस्तकलाका सामाग्रीका साथै कृषिजन्य उपजको बजार व्यवस्थापनमा पनि टेवा पुर्याउँदै आएको छ । पाउँदीमा लागेको बाला चतुर्दशी मेलामा मानिसहरुको निकै चाप रहेको र व्यापार पनि राम्रो रहेको व्यापारीहरुले बताएका छन् ।

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस