२०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

लमजुङ दुराडाँडाका अर्थशास्त्री डा. उत्तम पौडेल विश्वका शीर्ष दुई प्रतिशत वैज्ञानिकको सूचीमा

  • २०८२ कार्तिक २७, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • लमजुङ–विश्वकै प्रतिष्ठित स्टानफोर्ड विश्वविद्यालय र एल्सेभियरले संयुक्त रूपमा सार्वजनिक गरेको सन् २०२५ को ‘टप २ प्रतिशत साइण्टिस्ट्स अफ द वल्र्ड’ सूचीमा नेपालका वरिष्ठ अर्थशास्त्री डा. उत्तम पौडेलको नाम समावेश भएको छ ।

    यससँगै डा. पौडेल विश्वका शीर्ष वैज्ञानिकको सूचीमा पर्ने पहिलो नेपाली अर्थशास्त्री बन्न सफल हुनुभएको छ । जन्मस्थान लमजुङको दुराडाँडा, अर्चल्यानी भएका डा. पौडेल हाल काठमाण्डौमा बसोबास गर्नुहुन्छ ।

    स्टानफोर्ड र एल्सेभियरले विश्वभरका लाखौँ अनुसन्धानकर्तामध्ये उद्धरण संख्या, अनुसन्धान प्रभाव, प्रकाशनको गुणस्तर र अन्तर्राष्ट्रिय योगदानका आधारमा यो सूची तयार गरेको हो । उक्त अध्ययनले डा. पौडेलको योगदानलाई उच्चस्तरीय र अन्तर्राष्ट्रिय प्रभाव भएको निष्कर्ष निकालेको छ ।

    डा. पौडेलले अहिलेसम्म ५५ भन्दा बढी वैज्ञानिक अनुसन्धान र प्रकाशनहरू गरेका छन् । पछिल्ला चारदेखि पाँच वर्षको अवधिमा मात्रै उहाँका अध्ययनहरूलाई १७ हजार ५०० भन्दा बढी पटक उद्धृत गरिएको तथ्याङ्कले देखाउँछ । साथै, उहाँ २० भन्दा बढी अनुसन्धानमा सह–लेखकका रूपमा समेत संलग्न रहनुभएको छ ।

    त्रिभुवन विश्वविद्यालयबाट सन् २०२० मा विद्यावारिधि प्राप्त गर्नुभएका डा. पौडेलले यसअघि विदेशबाट महाविद्यावारिधि हासिल गर्नुभएको थियो । डा. पौडेलले स्वास्थ्य अर्थशास्त्र, बृहत् अर्थशास्त्र र आर्थिक नीति विश्लेषणलाई आफ्नो मुख्य अध्ययन क्षेत्र बनाउँदै आउनुभएको छ ।

    हाल डा. पौडेल राष्ट्रिय योजना आयोगका वरिष्ठ अर्थशास्त्रीका रूपमा कार्यरत हुनुहुन्छ । पौडेलले पछिल्लो एक वर्षयता आयोगका सात वटा विषयगत क्षेत्रको रणनीतिक विश्लेषण, संघको मध्यमकालीन खर्च संरचना, १६ औँ योजनाको कार्यान्वयन रणनीति र राष्ट्रिय गौरवका आयोजनाहरूको प्रमाण–आधारित मूल्यांकनमा अग्रणी भूमिका निर्वाह गर्नुभएको छ ।

    अर्थशास्त्रमा नीति निर्माण र विश्लेषणसँगै डा. पौडेलले अन्तर्राष्ट्रिय सहयोगी निकाय र नेपाल सरकारबीच सन्तुलित र विवेकशील आर्थिक सहकार्यको मोडेल विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ ।

    उहाँका अनुसन्धान र विश्लेषणले नेपाली अर्थतन्त्रमा वैज्ञानिक दृष्टिकोणबाट दीर्घकालीन सोच र कार्य पद्धति स्थापित गर्ने दिशामा मार्गदर्शन गरेको मानिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑