
लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–७, स्थित लमजुङ कृषि क्याम्पसको खेल मैदानमा आउँदो मंसिर १३ देखी २३ गतेसम्म सुन्दरबजार महोत्सव संचालन हुने भएको छ । लमजुङको सुन्दरबजारमा आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो ।
साङ्दो पल्री बौद्ध गुम्बा गुरुङ समाज सुन्दरबजारको आयोजनामा सुन्दरबजार महोत्सव संचालन हुने भएको हो । आयोजकले आज महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा लमजुङ कांग्रेस सभापति डा. टकराज गुरुङले गर्नुहुने आयोजकले जनाएको छ ।

‘स्थानीय कला, संस्कृति र धार्मिक सम्पदाको संरक्षण संबद्र्धन : उद्योग, व्यापार र आन्तरिक पर्यटनको प्रबद्र्धन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगितीक प्रस्तुतीका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुती रहने महोत्सव मुल समारोह समितिका सचिव खेम गुरुङले जानकारी दिनुभयो ।
व्यवस्थित बौद्ध गुम्बा निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक केन्द्र बनाउने उद्धेश्यका साथ महोत्सव संचालन गर्न लागिएको महोत्सव मूल समारोह समितिका सह– संयोजक सिंहबहादुर गुरुङले बताउनुभयो ।
महोत्सवलाई सफल पार्न एक सय २५ सदस्यीय मल समारोह समिति र ३१ वटा विभिन्न उप– समिति गठन गरिएको छ । महोत्सव अवधीभर एक लाख पचास हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
प्रतिक्रिया दिनुहोस