२०८३ भाद्र १६, मंगलबार | Tue, 01, Sep, 2026

गोरखा लाप्राकका तीन युवाद्धारा लमजुङ हिमालको सफल आरोहण

  • २०८२ कार्तिक २३, आईतबार मा प्रकाशित ९ महिना अघि
  • गुणबहादुर रोका

    गोरखाका तीन जना युवाले साहस, धैर्य र लगनशीलता प्रदर्शन गर्दै लमजुङ हिमाल आरोहण गरेका छन् । उत्तरी गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकका सन्दीप गुरुङ, सुजल गुरुङ र बुद्धबहादुर गुरुङले ६ हजार ९८३ मिटर अग्लो लमजुङ हिमाल आरोहण गरी लाप्राकको नाम उज्यालो पारेका छन् ।

    मनाङ र कास्कीको सिमानामा रहेको उक्त हिमाल यसअघि सन् १९७४ मा पहिलो पटक बेलायती सेनाका डेरिक च्याम्बरलेन र फिलिप नियमिले आरोहण गरेका थिए । त्यसयता थुप्रै आरोहीहरूले पटक–पटक आरोहणको प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।

    तीन जना गोरखाका आरोही टोलीले अक्टोबर २७ तारिखका दिन दिउँसो ३ बजे लमजुङ हिमाल आरोहण गरेका थिए । लमजुङ हिमाल आरोहणका क्रममा कठोर हिमपात, हावाहुरी, शुन्यभन्दा तलको तापक्रमबिच तीन जना युवाहरूको टोलीले अटल साहस प्रदर्शन गर्दै लमजुङ हिमालको शिखरमा सफलतापूर्वक पाइला टेक्न सफल भएका हुन् ।

    ३ जना आरोहीले हिमाल चढाइलाई देशभक्तिको प्रतीक र आत्मविश्वासको नयाँ अध्यायको रूपमा लिएकाले लमजुङ हिमालको शिखरमा पुगेर राष्ट्रिय झण्डा र गाउँको नाम अङ्कित ब्यानर फहराएका थिए ।

    हिमाल आरोहणका क्रममा हिउँ, चिसो र अक्सिजनको कमीजस्ता चुनौतीहरू सामना गर्दे अदम्य साहस र आत्मबलले गर्दा लमजुङ हिमाल आरोहण सफल भएपछि सुरक्षित रूपमा आधार शिविर फर्किएको र हाल सबै सदस्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

    ‘लमजुङ हिमाल यो पर्वतारोहण क्षेत्रको ऐतिहासिक आरोहण हो,’ आरोही सन्दिप गुरुङले भन्नुभयो, ‘५१ वर्षमा थुप्रै आरोहीले लमजुङ हिमाल आरोहणको लागि प्रयास गरेका थिए, तर सफल हुन भने सकेनन् । हाम्रो टोली पहिलो प्रयासमा सफल भयौं ।’

    लमजुङ हिमाल मनाङ र कास्कीको सिमानामा अवस्थित सुन्दर पर्वत हो । जसको उचाइ ६ हजार ९ सय ८३ मिटर रहेको छ । नेपाली आरोहीहरूले कमै संख्यामा यो हिमालको सफल आरोहण गरेका छन् । यस पटक गोरखा लाप्राकका युवाले गरेको सफलता गोरखा र समग्र देशकै गौरबको विषय बनेको छ ।

    प्रतिक्रिया दिनुहोस