लमजुङ–संसारकै सबैभन्दा बढी उचाइमा रहेको मनाङको तिलिचो ताल । यहाँसम्म पुग्ने धेरै पहिलेदेखीको सपना थियो, लमजुङ सुन्दरबजार नगरपालिका–९ भोटेओडारका महेन्द्र खनालको ।
समय मिलाएर केही दिनअघि मात्र उहाँ आफ्नो छोराको साथमा तिलिचो पुग्नुभयो । त्यहाँको प्राकृतिक सौन्दर्यमा टहलिनुभयो । तिलिचो ताललाई पृष्ठभूमिमा राखी तस्वीर समेत खिचाउनुभयो । तिलिचो पुगी रम्न पाउँदा उहाँलाई वर्षौदेखीको सपना पुरा भएको आभाष भयो ।
‘तिलिचो जाने धरै पहिलेदेखीको सोँच थियो । आफनै काम व्यस्तताले जाने फुर्सद मिलेको थिएन । यसपाली समय मिलाएर छोराको साथमा तिलिचो पुगियो । त्यहाँको प्राकृतिक सौन्दर्यमा हराइयो,’ महेन्द्रले भन्नुभयो ।

तिलिचोको सौन्दर्यले पर्यटक ‘भुतुक्कै’
उहाँको मात्र होइन हिमालको काखैमा अवस्थित संसारकै बढी उचाइमा रहेको हिमताल चिलिचोसम्म पुग्न खोज्ने प्राय : सबैको सपना हुन सक्छ ।
तिलिचोसम्मको यात्रा केही कष्टकर र जोखिमपूर्ण भए पनि तिलिचो पुगेपछि प्राकृतिक सौन्दर्यमा टहलिन पाउँदा यात्राका सारा कष्ट पलभरमै भुल्छन्, यहाँ पुग्ने जो कोही ।
मनाङको साथै तिलिचो तालको सौन्दर्यलाई नजिकैबाट नियाल्न देश तथा विदेशका पर्यटक यहाँसम्म आउन लालयित हुन्छन् । यो ताल आन्तरिक तथा बाह्य दुवै पर्यटकको रोजाइको गन्तव्य बनेको छ । ताल नजिकैबाट देखिने मुसुक्क मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, निलगिरी हिमश्रृङ्खलाको दृश्यले पर्यटक भुतुक्कै हुन्छन् ।
प्राकतिक एवं धार्मिक दृष्टिकोणले पनि महत्वपुर्ण
प्राकतिक रुपले मात्र नभई धार्मिक दृष्टिकोणले पनि महत्वपुर्ण मानिन्छ, तिलिचो ताल । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती अनुसार हिन्दू धर्मावलम्बीहरु तीर्थ व्रतका लागि पनि तिलिचो तालसम्म पुग्ने गरेका छन् ।
खरखरे भीर पार गर्दै हिँड्नुपर्ने हुँदा तिलिचोको यात्रा निकै कठिन हुने तर यात्रा कठिन भए पनि तिलिचो पुगेपछि सारा थकान मेटिने । तलिचो पुग्दा त संसारै जितेको अनुभूति हुने तिलिचो ताल पुगेर फर्कनुभएका महेन्द्रले भन्नुभयो ।

पर्यटकको संख्या बढ्दो
अहिले तिलिचो ताल पुग्ने पर्यटकको संख्या निकै बढेको मनाङबाट संचारकर्मी जीबि घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको संख्या निकै बढि छ ।
तिलिचो तालमा बिहान १० बजेदेखि चिसो हावा बहन थाल्छ । तिलिचो तालसम्म पुग्नका लागि आवश्यक तयारीका साथै आवश्यक औषधी र साथीको साथमा जानुपर्ने केही वर्ष अघि नै तिलिचो पुगेर फर्कनुभएका लमजुङ सुन्दरबजार नगरपालिका–७ का रामकृष्ण सुनाले बताउनुभयो ।
मनाङको निस्याङ गाउँपालिकामा पर्ने संसारकै अनुपम सौन्दर्यको रुपमा रहेको तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो ।
हिमालय पर्वत ऋङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपूर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि चार हजार ९ सय १९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ ।
जानकारहरुका अनुसार मुख्यतया :असोजदेखि पुस महिनासम्म तिलिचो पुग्ने उचित समय मानिन्छ । फागुनदेखि वैशाखसम्म दोस्रो सिजनको रुपमा लिने गरिएको छ ।
मनाङको खाङसारसम्मै सडक सुविधा
डुम्रे–बेसीशहर–चामे सडकखण्डका साथै मनाङको खाङसारसम्म सडक मार्गबाट तिलिचो ताल जान सकिने संचारकर्मी घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार खाङसारबाट श्रीखर्क हुँदै चार/पाँच घण्टाको पैदल यात्रामा बेसक्याम्प पुग्न सकिन्छ । बेसक्याम्पबाट पाँच घन्टा पैदल हिँडेपछि तिलिचो ताल पुग्न सकिन्छ ।

एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस